एजेन्सी । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेशमन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् ।
मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । यसअघि शनिबार एक प्रेस ब्रिफिङका क्रममा मिश्रीले पाकिस्तानले भारतविरुद्ध गरिरहेको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको रूपमा हेरिएको बताएका थिए ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक डारले पनि पाकिस्तान र भारत तत्काल लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको बताए । ‘पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि सधैं प्रयास गर्दै आएको छ,’ उनले भने ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देश तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्न सहमत भएको बताएका थिए । ‘बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर, सेनाप्रमुख असिम मुनिर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असिम मलिकलगायत भारत र पाकिस्तानका वरिष्ठ अधिकारीसँग कुराकानी गरेका छौँ,’ अमेरिकी विदेशमन्त्री रूबियोले भनेका थिए ।
गत मे २ मा पहलगाममा भएको आतंककारी हमलाको जवाफमा भारतले मे ७ मा अप्रेसन सिन्दुर चलाएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो भने पाकिस्तानले पनि जवाफी कारबाही चलाएको थियो, जसका कारण भारतीय सर्वसाधारणसहित केही सुरक्षाकर्मीको हताहत भएको थियो ।