काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपाल र भारतको श्रमजीवी पत्रकार संघ हरियाणाबीच सहकार्य हुने भएको छ । श्रमजीवी पत्रकारको हितमा काम गरिरहेका दुवै संस्थाबीच सहकार्यका लागि छलफल भएको हो ।
श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी र श्रमजीवी पत्रकार संघ हरियाणाका संस्थापक अध्यक्ष डा. इन्दु बंसलबीच बिहीबार भएको टेलिफोन वार्तामा दुवै संस्थाबीच सहकार्यका विषयमा छलफल भएको छ ।
अध्यक्ष जैसीले बंसललाई नेपाल भ्रमणको निम्तो दिएका छन् भने बंसलले पनि श्रमजीवी पत्रकार संघलाई भारतको हरियाणा भ्रमणको निम्तो दिएकी छन् । हरियाणाकी अध्यक्ष बंसलले नेपालका पत्रकारको टोलीले पहिला भारत भ्रमणका लागि जाने बताएकी छन् ।
भ्रमणका क्रममा दुवै देशका पत्रकारको व्यावसायिकतासँगै पत्रकारको हितमा विस्तृत चर्चा हुने बताइएको छ । श्रमजीवी पत्रकारका मुद्दा र पत्रकारको हितका विषयमा दुवै संगठनले आ-आफ्नो देशमा बलियोसँग लबिङ गरिरहेका छन् । पत्रकार जैसी रातोमसी डट कमका प्रधानसम्पादक पनि हुन् ।