काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दसौं संस्करण आज बिहीबारबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रवर्धन केन्द्र (टीईपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेला वैशाख २९ सम्म चल्नेछ ।
मेलाको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भनेअनुसार नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सरकार नीतिगत सुधारमा लाग्छ, तपाईंहरु उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्धनमा लाग्नुहोस् ।’
नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उनले उल्लेख गरे । सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको मन्त्री भण्डारीले बताए ।
‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।’
हालै संसदमा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्धनलाई प्राथमिकतामा राखिएको जानकारी उनले गराए । ‘देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा छ,’ उनले भने ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्वबजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । नेपाली व्यवसायीलाई प्रतिस्पर्धात्क क्षमता बढाउन पनि उनले आग्रह गरे ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा महासंघले मेला आयोजना गरेर सकारात्मक सन्देश दिन खाजेको उनले प्रस्ट पारे ।
‘मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने । नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे ।
त्यस्तै व्यापार तथा निकासी प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए । मेलामा नेपाल, चीन र बंगलादेशका गरी १२० भन्दा बढी स्टल छन् ।
मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग भेटघाट र द्विपक्षीय व्यापार एवं लगानीका अवसरका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १०औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नुपर्ने उनले बताए ।
मेलाको डिजिटल पेमेन्ट पाटनर आइएमई पे, अफिसियल इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, चाइना एक्जिविसन एन्ड फोरम कम्पनी लिमिटेड, गार्मेन्ट एसोसिएएन नेपाल एक्जिविसन लाइट हाउस, इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालि रहेको र मेलामा नि:शुल्क प्रवेशको वयवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए ।
मेलाको उद्घाटन सत्रमा नेपालस्थित थाइल्यान्ड, इजरायल र यूएईका राजदूत, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का देशीय निर्देशक तथा अमेरिका, रुस, पाकिस्तान, बंगलादेशका राजदूतावासका आर्थिक मामिला प्रमुखहरुको समेत उपस्थिति थियो ।