रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका-१३ बैंकरोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा पर्यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि पाँच हजार जरिवाना तिरायो ।
सो फार्मेसी सोही नगरको वडा नं ५ की वडा सदस्य किरणदेवी सुनारको हो । सुनारले आफैँले बनाएको नियम आफैँले उल्लंघन गरेपछि जरिवाना तिरिन् । उनले भनिन्, ‘फार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु ।’
नगरले जरिवाना लिन थालेपछि पछिल्लो समय वडा नं ५, १२ र १३ पहिलेको तुलनामा सफा भएको सुनार बताउछिन् । उनले भनिन्, ‘नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छ ।’
नगरपालिकाले फोहोरमैला, छाडा चौपाया, दर्ताबिना सञ्चालित ई-रिक्साको व्यवस्थापनमा कडाइ गरेको हो । पटक पटक आग्रह गरे पनि अटेर गर्नेलाई जरिवाना असुल गर्न सुरु गरेको हो । नगरले कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने योजना बनाएको छ ।
फोहोरमैला जथाभावी फाल्नेहरु हालसम्म ११ जनालाई जरिवाना गराएको छ । जरिवानाबापत ५५ हजार राजस्व संकलन गरेको छ । दर्ताबिना नगरमा सञ्चालित ई-रिक्सा चालक पनि कारबाहीमा परेका छन् । नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ई-रिक्सा दर्ता प्रक्रियाका लागि पटकपटक सूचना जारी गर्दासमेत अटेर गर्ने ३५ वटा ई-रिक्सा चालकबाट जरिवाना असुलेको छ ।
प्रतिचालक पाँच हजारकै दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । नगरको आग्रहलाई अटेर गरी सञ्चालन गरिरहेका ई-रिक्सा दैनिक पाँच वटाको हाराहारीमा कारबाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले बताए ।
गत महिना नगरको वडा नं ४ की नौ वर्षीया एक बालिका खेल्दै गरेको स्थानबाट हराइन् । हालसम्म ती बालिकाको अवस्थाबारे केही पत्ता लागेको छैन । ती बालिका ई-रिक्सामा चढेको देखिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन् । उनले भनिन्, ‘दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । त्यसैले दर्ता अति आवश्यक छ ।’
हालसम्म ई-रिक्सा व्यवस्थापनका लागि नगरले कार्यविधि बनाएको छैन । हालसम्म नगरमा ६३५ वटा ई-रिक्सा दर्ता भई सञ्चालनमा छन् ।
त्यसैगरी, दुर्घटनाका कारकमध्ये छाडा चौपायालाई सडकमा जथाभावी छाड्नुलाई पनि मानिन्छ । समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरेको हो ।
हालसम्म चार जनालाई चौपाया छाडा जथाभावी छाडेबापत रु सात हजारका दरले जरिवाना लिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले बताए । हालसम्म ११५ वटा मरेका गाई-गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिए ।
स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलो पटकका लागि सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो ।