काठमाडौं । लगातार पाँच दिनसम्म घटेको सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १.०३ अंकले बढेर २६११.४३ विन्दुमा पुगेर बन्द भएको हो ।
यस दिन सेयर बजारमा कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा १ अर्ब ११ करोड रुपैयाँले बढी हो ।
आज ३१८ वटा कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच भएको छ । बजारमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ वटाको घटेको छ ।
मंगलबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सक र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ५.१८ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १३ वटा मध्ये ५ समूह बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशतले घटेको छ । जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको मूल्य पनि बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा वित्त समूहका लगानीकर्ता रहेका छन् ।
सानिमा माइ हाइड्रोपावरको सबैभन्दा धेरै ९२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।