• Menu

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे

नेपाल प्रफिट

२०८२ वैशाख २३, ११:२८

ग्लोबल आइएमई बैंकले सुरु गर्‍यो कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरु गरेको छ । यो गेटवे सुरु भएपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले नेपालमा ई-कमर्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई व्यवसायको दायरा विस्तार गरी देश-विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ई-कमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटललगायतका व्यवसाय लाभान्वित हुनेछन् ।

ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको व्यवसाय वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडी सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ ।

बैंकले ग्राहकको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार