• Menu

स्टार्टअप उद्यम कर्जाका लागि ६६१ परियोजना छानिए (सूचीसहित)

नेपाल प्रफिट

२०८२ वैशाख २३, ०८:१०

स्टार्टअप उद्यम कर्जाका लागि ६६१ परियोजना छानिए (सूचीसहित)

काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि ६६१ परियोजना छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रारम्भिक सूचीमा राखेका १ हजार ३१४ वटा परियोजनाबाट ६६१ वटालाई कर्जाका लागि सिफारिस गरेको हो ।

प्रतिष्ठानले २०८१ भदौ ११ गते दोस्रो चरणको स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । २१ दिनको अवधि राखेर गरिएको आह्वानअनुसार भौतिक र अनलाइनका माध्यमबाट भदौ ३१ सम्म ५ हजार १५८ प्रस्ताव प्राप्त भएको थियो ।

प्रस्तुतीकरणमा कृषि फार्म, होस्टेल, घरेलु उद्योग, आइटी क्षेत्रलगायतका १ हजार ७३ परियोजना सहभागी भएका थिए । तीमध्येबाट ६६१ वटा परियोजनालाई कर्जा प्रवाहका लागि योग्य मानिएको प्रतिष्ठानले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ स्टार्टअप कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षण कोषमा जम्मा गर्नुपर्नेछ । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार बाँकी रकम भने कर्जा प्रवाह हुनेछ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ कार्यविधिअनुसार उद्यमीले ५ लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । सिफारिसमा परेका परियोजनाले ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्