काठमाडौं । कपन डुबान समस्या समाधानमा गम्भीर नबनेको भन्दै बुढानीलकण्ठ नगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा धर्ना दिएको छ । प्राधिकरणअन्तर्गतको काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती गरेको र योजना कार्यान्वयनमा गम्भीर नबनेको भन्दै सोमबार नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा धर्ना दिइएको हो ।
धर्ना तथा विरोध कार्यक्रममा कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणले चरम लापर्बाही गरेको आरोप जनप्रतिनिधिले लगाएका छन् । बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले नगरबासीले वर्षौंदेखि ढल, हिलो, धुलो र डुबानको समस्या खेपिरहँदा प्राधिकरणले आयोजना कार्यान्वयनमा कुनै तदारुकता नदेखाएको बताए ।
‘अहिलेसम्म ९-१० पटक धायौँ, पटक-पटक आश्वासन दिइन्छ काम हुँदैन,’ उनले भने, ‘नागरिकले निकै ठूलो सास्ती खेपिरहेका छन्, स्वास्थ्यमा विभिन्न खालका समस्या देखिएका छन् तर प्राधिकरणलाई कुनै वास्ता छैन ।’
त्यस्तै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि प्राधिकरणले आयोजना सम्पन्न गराउन कुनै चासो नदिएकाले धर्ना दिनुपरेको बताए । ‘हामी राजधानी सहर काठमाडौंका बासिन्दा भएर पनि कर्णालीको जस्तो सास्ती खेपिरहेका छौँ,’ उनले भने, ‘तर प्राधिकरण अनेक प्रशासनिक उल्झन निकालेर काममा ढिलाइ गरिरहेको छ ।’
बुढानीलकण्ठ नगरपालिका ११ का अध्यक्ष राजु अधिकारीले पनि प्राधिकरणको बेवास्ताका कारण नगरबासीले वर्षौंदेखि दु:ख पाइरहेको आरोप लगाए । दुई वर्षमा सक्ने भनेर सम्झौता गरिएको आयोजना तीन वर्षमा पनि सम्पन्न नहुँदा वडाबासीले चरम सास्ती खेप्नुपरेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको उनले बताए ।
त्यसैगरी बुढानीलकण्ठ नगरपालिका १२ का अध्यक्ष शम्भु भट्टराईले विकासको काम जिम्मा लिने तर पूर्णता नदिने प्रवृत्ति बढेको आरोप लगाए । ‘आयोजना झुलाएर प्राधिकरणले जनतालाई दु:ख दिने काम मात्र गरिरहेको छ,’ नगर सुशासन समितिका संयोजकसमेत रहेका भट्टराईले भने, ‘तीन दिनको अल्टिमेटम दिएका छौँ, माग पुरा नभए प्राधिकरण कार्यालयमा ताला लगाउन बाध्य हुन्छौँ ।’
बुढानीलकण्ठ नगरपालिका १० तथा काठमाडौं ६ र ७ मा पर्ने धोबिखोलादेखि चाखुन्चासम्म बक्स कल्भर्ट निर्माणको ठेक्का ड्रागन आरए रेजिनेन्सले पाएको छ । २०८१ माघ २८ भित्र सम्पन्न गर्ने गरी २०७९ चैत २ गते ठेक्का सम्झौता भएको आयोजना ड्रागनले भ्याटसहित २७ करोड १ लाख १ हजार १३६ रुपैयाँमा सकारेको हो ।
ड्रागनले ठेक्का पाए पनि पेटी ठेकेदारका रुपमा हाई हिमालय पीआर जेभीले आयोजनाको काम गरिरहेको विकास प्राधिकरणले जनाएको छ । सम्झौता अवधिमा काम नसकिएपछि ठेकेदारको आग्रहमा एक वर्ष म्याद थपको प्रक्रिया अघि बढिसकेको छ ।
प्राधिकरणले पनि काममा ढिलाइ भएको स्वीकार गरेको छ । नाम नबताउने सर्तमा प्राधिकरण एक कर्मचारीले काम सुस्त भएको स्वीकार गरे । तर, त्यसमा प्राधिकरणको मात्र दोष नरहेको उनको तर्क छ । उनका अनुसार साततले चोकमा सीमांकन इस्युका कारण अहिले पनि साइट क्लियर छैन । ‘सीमा इस्युकै डेढ महिना काम रोकिएर पुन: सुरु भएको छ, जहाँ साइट क्लियर छ, त्यहाँ अहिले धमाधम काम भइरहेको छ,’ उनले भने ।
धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका-१०, ११ र १२ का अध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो । धर्नाका सहभागीले कपन क्षेत्रमा मात्र नभएर विकास निर्माणका सबै काममा काठमाडौं उपत्यका विकास प्राधिकरणले बेवास्ता गरेको आरोप लगाएका छन् ।