काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । केन्द्रको उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका हुन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । पौडेललाई विशेषले १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगोबराबरको जरिवाना गर्न फैसला गरेको छ ।
पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।
मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनलाई पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । हुसेनलाई १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।
विकल, म्याक्स, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने विशेषको फैसलामा उल्लेख छ ।
विशेषले अख्तियारको दाबीबमोजिम प्रतिवादीहरूले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने उपर गर्नुपर्ने फैसला भएको हो ।