• Menu

ठूलोखोला जलविद्युत आयोजना

२१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना जेठ १ देखि परीक्षण उत्पादनमा, ३ अर्ब ६० करोड लगानी

नेपाल प्रफिट

२०८२ वैशाख २१, ११:२४

२१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना जेठ १ देखि परीक्षण उत्पादनमा, ३ अर्ब ६० करोड लगानी

म्याग्दी । रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युतगृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट  म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बाँध, सुरुङ, विद्युतगृह र स्विचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युतगृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युतगृमा खसालेर विद्युत उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र ६ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ ।

गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन् ।

आयोजनामा सिभिलतर्फ साकुरा पावर-त्रिपल एस जेभीले ठेक्का लिएको थियोभने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्