• Menu

स्याङ्जाको जुग्ले-बाँगे सडक कालोपत्र, दुई गाउँपालिका लाभान्वित

नेपाल प्रफिट

२०८२ वैशाख १६, १५:०५

स्याङ्जाको जुग्ले-बाँगे सडक कालोपत्र, दुई गाउँपालिका लाभान्वित

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका-५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका-५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो ।

जुग्ले-बाँगे सडकखण्डको हाल जुग्ले-गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताए । ‘आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ,’ उनले भने, ‘सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ ।’

गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उनीहरुलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पुर्‍याउन यो सडकले महत्वपूर्ण टेवा दिने उनले बताए । दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले संघीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो ।

२०७९ साल माघमा सम्झौता भई निर्माण सुरु भएको सडक २०८२ साल साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उनले बताए । ‘बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६०० मिटर ढलान गरिएको छ,’ उनले भने, ‘साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माणसम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ ।’

संघीय सरकारको समपूरक अनुदानअन्तर्गत तीन करोड र आँधीखोलाको चार करोड ५५ लाख गरी कूल सात करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो ।

तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब-इञ्जिनियर सन्तोष सुवेदीले बताए । सडक नालीसहित सात मिटर चौडाइको रहेको छ । सडक किनारामा पहेँलो घेराको रङ-रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उनले बताए ।

सडक ५.७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ । ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उनले बताए । उक्त सडक निर्माणका लागि विजय-राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्