• Menu

स्पेन र पोर्चुगलमा विद्युत सेवा अवरूद्ध, मोबाइल फोन र इन्टरनेटसमेत प्रभावित, ऊर्जा संकट घोषणा

नेपाल प्रफिट

२०८२ वैशाख १६, ११:२४

स्पेन र पोर्चुगलमा विद्युत सेवा अवरूद्ध, मोबाइल फोन र इन्टरनेटसमेत प्रभावित, ऊर्जा संकट घोषणा

एजेन्सी । स्पेन र पोर्चुगलमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युत् आपूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कसमेत प्रभावित भएको, रेल सेवा अवरूद्ध भएको र मानिस लिफ्टमा फसेको अधिकारीहरुले बताएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा गएर समस्याको जानकारी लिएका छन् । स्पेन सरकारले व्यापक रूपमा भएको विद्युत् कटौतीको उद्गमस्थल पत्ता लगाउन लागिपरेको जनाएको छ ।

स्पेनी विद्युत् सेवाप्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत सुरु गर्न ६ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा मेट्रो स्टेसनहरूमा अन्धकार छाएको, रेलहरू रोकिएको र कार्यालय तथा हलहरूमा रहेका मानिसले फोनको बत्ती प्रयोग गरेर हिँडिरहेको देख्न सकिन्छ ।

राष्ट्रिय सडक प्राधिकरणले मोटर चालकहरूलाई ड्राइभिङ रोक्न भनेको छ भने चौराहाहरूमा ट्राफिक निर्देशन जारी गर्न प्रहरी बाध्य भएको छ । म्याड्रिड र बार्सिलोनामा एएफपीका पत्रकारहरूले मानिस सडकमा निस्केको र आफ्नो स्मार्टफोन समातेर नेटवर्क जडान गर्ने प्रयास गरिरहेको बताएका छन् ।

मानिसहरु पनि लिफ्टमा फसेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ । यसले वेब कनेक्सन सामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ ।

उडानमा अवरोध

पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले एएफपीलाई दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध भएको छ । दक्षिण पश्चिम फ्रान्समा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ ।

फ्रान्सको हाई भोल्टेज ग्रिड अपरेटर आरटीईले भनेको छ, ‘विद्युतीय घटनाले स्पेन र पोर्चुगललाई प्रभावित गरिरहेको छ, जसको कारण पत्ता लाग्न बाँकी छ ।’ स्पेन र पोर्चुगलसँग सम्पर्कमा रहेको र यसको ‘अन्तर्निहित कारण बुझ्न’ युरोपियन आयोगले आग्रह गरेको एक प्रवक्ताले बताएका छन् ।

स्पेनको रेलवे अपरेटर एडीफले बिजुली कटौतीपछि देशभरिका सम्पूर्ण रेलहरू रोकेको छ । विमानस्थल सञ्चालक आइनाका अनुसार उडानमा ढिलाइ भए पनि आकस्मिक विद्युत् प्रणालीका कारण देशका विमानस्थलहरू अझै सञ्चालनमा छन् ।

स्पेनको रेड इलेक्ट्रिकाले देशको उत्तर र दक्षिणमा विद्युत आपूर्ति सुरु गर्न सफल भएको तर समस्या समाधान नभएको बताएको छ । ‘हामी सेवा पुनः सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

स्पेनको एल पाइस पत्रिकाले आफ्नो वेबसाइटमा म्याड्रिडमा मेट्रो रेल रोकिएको, ट्राफिकलाई निर्देशन दिइरहेको प्रहरी र टर्चलाइटको छेउमा अँध्यारो कार्यालयमा काम गरिरहेका आफ्नै पत्रकारहरूको फोटोहरू पोस्ट गरेको छ ।

पत्रिकाले अस्पतालका प्रमुख विभागहरू ब्याक-अप जेनेरेटरहरूको कारण काम गर्न सकेको भए पनि अन्य एकाइहरू बिजुलीविहीन अवस्थाका कारण प्रभावित रहेको जनाएको छ । हालैका वर्षहरूमा विश्वका अन्य देशमा पनि विद्युत अवरोध हुने समस्या देखापरेका छन् ।

प्रतिक्रिया दिनुहोस्