काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।
गत हप्ता काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पाथीभरामा निर्माणाधीन केबलकारसँग सम्बन्धित स्थानीयका सरोकारका केही विषय पहिचानका लागि युवालगायत विभिन्न संघसंस्थाले वार्ता तथा छलफलबाट समाधान निकाल्न र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेपछि कम्पनीले सोमबार विज्ञप्ति जारी गरी वार्ताका लागि आह्वान गरेको हो ।
विज्ञप्तिमा कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको जनाएको छ । त्यहाँको धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना तथा प्रवर्धन गर्न कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्डअनुसार वातावणीय प्रभाव मूल्यांकनलगायतका सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर परियोजना निर्माणको क्रममा रहेको पनि उल्लेख गरेको छ ।
स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल र समन्वय गरी अगाडि बढ्ने जानकारीसमेत विज्ञप्तिमार्फत गराइएको छ ।
‘हामीलाई विश्वास छ वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र संवादका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिन्छौँ र यस विषयमा वार्ता तथा संवादमा बस्न तयार छौँ,’ सञ्चालक रुद्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति
पाथीभरा देवी दर्शन केवलकार प्रा.लि. मिति २०७२ साल असोज ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार निर्माण गरी पर्यटक आगमनको संख्यामा उल्लेखनीय वृद्धि गरी उक्त स्थानको धार्मिक, सास्कृतिक संरक्षण गर्दै सामाजिक र आर्थिक, अवस्थामा टेवा पुर्याउने कम्पनीको उद्देश्य छ ।
यस कम्पनीले स्थापना कालदेखि ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवी दर्शन गर्ने तीर्थालु भक्तजन र पर्यटकलाई मन्दिरसम्म सहजै पुग्नका लागि केवलकार निमार्णको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढाएको सर्वविदितै छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ११ काफ्लेपाटीमा केवलकारको बटम स्टेसन रही पाथीभरा देवी मन्दिर परिसरभन्दा केही बाहिर माथिल्लो स्टेसनसम्मको दूरि जम्मा २.७५ किलोमिटर छ ।
केबलकार निर्माणका लागि आवश्यक पर्ने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई नेपाल सरकार मन्त्रिपरिषद् निर्णयबाट भोगाधिकार प्राप्त गरी त्यसबापत १०६ रोपनी जग्गा खरिद गरी नेपाल सरकारलाई सट्टाभर्नासमेत दिइसकेको छ ।
आयोजना निर्माणका लागि आवश्यक रुख कटान गरी साइट क्लियर गर्ने कामसमेत सम्पन्न भइसकेको छ । त्यसैगरी, कटान भएका एउटा रुखको सट्टा २५ रुखका दरले आयोजनाले वृक्षारोपणसमेत गर्नेछ ।
आयोजनाले हालसम्म आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण, विद्युत लाइन विस्तार, खानेपानी व्यवस्थापन, विस्तृत इन्जिनियरिङ डिजाइन, माटो परीक्षण, तल्लो स्टेसनमा कामदार बस्ने क्याप निर्माणलगायतका काम सम्पन्न गरिसकेको छ ।
पाथीभरा देवी दर्शन केबलकार निर्माण भएमा पहिचानको नाम र आत्मसम्मान साथै स्थानीय धर्म, संस्कृति र परम्परा आदि महत्वपूर्ण विषयमा आघात पर्ने र मेटिने आशंका गरी आफ्नो मौलिक पहिचान र आत्मसम्मान एवं गौरवका लागि भनी विकास निर्माण र रोजगारीका निम्ति निर्माणधीन केबलकारको विरोधमा आन्दोलनरत विभिन्न शक्ति घटकहरुले गरेको आन्दोलनबाट हामी निर्माण कम्पनी मुख्य तीन विषयहरु आन्दोलनको माग एजेन्डा हुन सक्ने बुझेका छौँ ।
१. केबलकार निर्माण भइरहँदा पहिचानको नाम र आत्मसम्मानको सुनिश्चितता हुनुपर्ने, आदिवासी जनजातिहरु विकास विरोधी होइनौँ भन्ने आन्दोनलको माग र घटकहरुको बुझाइ ।
२. निर्माणाधीन केबलकारले आदिवासी जनजातिको मौलिक धर्म, संस्कृति र परम्पराको सुरक्षाका साथै स्थानीयलाई रोजगारी आदिको ग्यारेन्टी गर्नुपर्ने ।
३. यी महत्वपूर्ण पहिचानको नाम र आत्मसम्मानको विषयका एजेन्डा सरकार र निर्माणाधीन कम्पनीले नदिलाएमा केबलकार बन्न नदिने भन्ने मत उठेको पाएका छौँ ।
यथार्थमा हामी व्यावसायिक कम्पनी हौँ । हामी पहिचान दिलाइदिने राजनीतिक शक्ति होइनौँ । तथापि, वर्तमान विश्व राजनीतिमा विकास निर्माण र पहिचानको मत पारस्परिक तथ्य बन्दै आएको हामी पनि स्वीकार्छौं ।
यसर्थ, आन्दोलनरत सम्पूर्ण पक्षहरु अहिले आएर पहिचानको निम्ति जुनसुकै कदम र आन्दोलन उठाउन सक्ने तर पहिचानको नाम र आत्मसम्मानको बोध भएमा आफूहरु विकास विरोधी नभएको साथै सम्पूर्ण समस्याको समाधान वार्ता र संवादबाट समाधान निकाल्न सकिन्छ भन्ने यहाँहरुको बुझाइलाई कम्पनी पक्ष उच्च सम्मान र स्वागत गर्दछ । यहाँहरु विकास विरोधी हुनुहुन्न भन्ने हामीहरुमा रहेको बुझाइमा थप विश्वास थपिएको छ ।
केबलकार विश्वमै न्यून प्राकृतिक क्षतिबाट विकास गर्न सकिने एउटा वातावरण मैत्री यातायतको साधन मात्र हो । यसको निर्माण प्रकृति तथा वन जंगल र जैविक वातावरणमा असर नपर्ने गरी गर्न सकिन्छ र नवीकरणीय ऊर्जाको प्रयोगबाट समेत सञ्चालन गर्न सकिन्छ ।
यस कम्पनीले सधैँ प्राचीन सभ्यता, सबै धर्म, संस्कृति, परम्परा, स्थानीयको आत्मसम्मान र पहिचानलाई उच्च सम्मान गर्दै सम्बद्ध व्यक्ति, संस्था तथा बौद्धिक व्यक्तित्वहरुसँगको परामर्श र सहकार्यबाट काम अगाडि बढाउन चाहन्छ ।
हामी सरोकारवाला सबै पक्षका मागको सम्मान गर्दै आएको व्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको देश तथा विदेशमा प्रवर्धन गर्दै रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकास तथा पहिचान र आत्मसम्मानको कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।
परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर परियोजना निर्माणको क्रममा छ । कम्पनीले स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारीसमेत गराउन चाहन्छौँ ।
हामीलाई विश्वास छ, वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामीले केबलकार निर्माणमा देखिएका विषयहरुमध्ये केबलकार खारेजीबाहेक, पहिचान र आत्मसम्मानका लागि हालसम्म भए गरिएका सम्पूर्ण आन्दोलनरत पक्षहरुको मागलाई सकारात्मक रुपमा लिएका छौँ ।
यो केबलकार निर्माणसँग सम्बन्धित आन्दोलनरत घटकहरुले उठाएका सम्पूर्ण समस्याको समाधान गर्न हाम्रो तर्फबाट हुन सक्ने सबै प्रक्रियामा सकारात्मक रहेको जानकारी गराउँदै आन्दोलनरत सबै पक्षहरुलाई वार्ता तथा संवादद्वारा समस्याको समाधान खोज्न वार्ता र संवादमा आउन हार्दिक आह्वान गर्दछौं ।
अन्त्यमा, यस परियोजनाले आन्तरिक तथा बाह्य पर्यटनको माध्यमद्वारा स्थानीय समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास र निर्माणमा फाइदा पुर्याउने र समग्रमा मुलुककै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ भन्ने विषयमा हामी आशावादी छौँ ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal