• Menu

दुई दिनको वृद्धिपछि सेयर बजार १४ अंकले घट्यो, ८ अर्ब १९ करोडको कारोबार

नेपाल प्रफिट

२०८२ वैशाख १५, १६:२९

दुई दिनको वृद्धिपछि सेयर बजार १४ अंकले घट्यो, ८ अर्ब १९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पुनः ओरालो लागेको छ । आइतबारको तुलनामा आज नेप्से १४.५३ अंकले घटेर २६४७.०० विन्दुमा झरेको हो । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकसम्म पुगे पनि त्यसपछि निरन्तर गिरावट आएको थियो । सेयर बजारमा आएको यो सुधार लामो समय टिक्न सकेन । अघिल्लो दुई कारोबार दिनमा बढेको बजार सोमबार एकैदिन १४ अंकले घटेको छ ।

सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ८ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।

सोमबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटाको मूल्य घटेको छ । समग्र बजार रातो भए पनि फाइनान्स क्षेत्रमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स उपसमूह सर्वाधिक १.४० प्रतिशतले बढेको छ। लगातार गिरावटपछि यो समूहमा सुधार देखिएको हो । त्यस्तै, व्यापारसमूह ०.४२ प्रतिशतले बढेको छ।

यी दुई उपसमूहबाहेक अन्य सबै उपसमूहमा घटेको छ । लगानी सबैभन्दा धेरै २.१४ प्रतिशतले घट्यो भने बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, जलविद्युत ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, लघुवित्त ०.७६, निर्जीवन बीमा ०.०२ र अन्य ०.२१ प्रतिशतले घटेको छ ।

सोमबार नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७ र मानुषी लघुवित्त वित्तीय संस्थाको ५.७९ प्रतिशतले मूल्य बढेको छ ।

सप्तकोशी विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ । युनिभर्सल पावरको ४.८० र त्रिशुली जलविद्युतको ४.७९ प्रतिशतले मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्