काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहोर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहोरको मात्रा घटेको छ । फोहोर व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहोर अन्तिम व्यवस्थापनको कार्य थालेको छ ।
फोहोर वर्गीकरणअघि कामपाबाट दैनिक २० गाडी फोहोर बञ्चरेडाँडा जाने गरेको थियो । अहिले फोहोरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३ २४, २५ र २७ मा स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ ।
विभाग प्रमुख राईका अनुसार अहिले कामपाले ६ वटा क्षेत्र निर्धारण गरेर फोहोर व्यवस्थापनको काम थालेको छ । उनका अनुसार प्रत्येक क्षेत्रमा एक-एकवटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहोर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ ।
त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ ।
काठमाडौं उपत्यकाका १८ स्थानीय तहमा उत्पादित फोहोर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुका साथै फोहोरमैला संकलन र ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहोर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको राईले बताइन् ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल काठमाडौं उपत्यकाका १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।
यसरी गर्न सकिन्छ फोहोर व्यवस्थापन
भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहोर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन् ।
तरकारी (सागसब्जी), बढी भएको खानेकुरा, माछामासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु र रूखका पात कुहिने फोहोर हुन् ।
प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि भने नकुहिने फोहोर हुन् ।