• Menu

सिंहदरबारमा जेठभित्र मेलम्चीको पानी वितरण गरिने, बोतल र जार निषेध

नेपाल प्रफिट

२०८२ वैशाख १५, ११:३८

सिंहदरबारमा जेठभित्र मेलम्चीको पानी वितरण गरिने, बोतल र जार निषेध

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए । हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई मीना श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिनुभएको छ । अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ ।’

मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए । उनले भने, ‘मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ । अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्