काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले नभएर निजी क्षेत्र र उद्योग र व्यापार सञ्चालन गर्नुपर्ने स्पष्ट पारे ।
निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको सभापति देउवाले बताए । ‘निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैं अग्र स्थानमा छ,’ उनले भने, ‘निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने विश्वास छ । व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले व्यापार र उद्योग गर्ने होइन, निजी संस्थाले गर्नुपर्छ ।’
आउँदो बजेटले निजी क्षेत्रका सवाल सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने उनको विश्वास छ । ‘मलाई विश्वास छ- आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ,’ उनले भने ।