• Menu

नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव

‘कर्जाको माग र पुँजीगत खर्च नहुनु आन्तरिक अर्थतन्त्रका समस्या, अमेरिकी व्यापार नीति पनि चुनौतीपूर्ण’

नेपाल प्रफिट

२०८२ वैशाख १४, २०:५१

‘कर्जाको माग र पुँजीगत खर्च नहुनु आन्तरिक अर्थतन्त्रका समस्या, अमेरिकी व्यापार नीति पनि चुनौतीपूर्ण’

काठमाडौं । कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कर्जाको माग र पुँजीगत खर्च नहुनुलाई आन्तरिक अर्थतन्त्रका मूल समस्याका रुपमा औंल्याएकी छन् ।

नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको र नेपालको बाह्य क्षेत्र सबल हुँदै गए पनि कर्जाको माग नहुनु र कमजोर पुँजीगत खर्चले आन्तरिक अर्थतन्त्र चुनौतीको डिलमा रहेको उल्लेख गरेकी हुन् ।

आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको उनको टिप्पणी छ । ‘उच्च तरलता एवं न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवं आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजना समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौती कायम छन्,’ कार्यक्रममा उनले भनिन् ।

मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको र बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत भने गति लिन थालेको कामु गभर्नर तिम्सिनाले बताइन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्यांकले पनि यसको पुष्टि गरेको उनको तर्क छ । कानुनी सुधारले लगानीको वातावरण सहज बनाएका कारण समग्र आर्थिक गतिविधि थप चलायमान हुने उनको अपेक्षा छ ।

सम्बोधनमा कामु गभर्रन तिम्सिनाले नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको बताइन् । ‘दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको छ,’ उनले भनिन्, ‘विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको छ ।’

वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरिन् । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ र उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको तथ्यांक उनले प्रस्तुत गरिन् ।

राष्ट्र बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवं सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको तिम्सिनाको प्रस्टोक्ति छ ।

तथ्यांकका हिसाबले आन्तरिकसँगै बह्य अर्थतन्त्रमा सुधार देखिँदै गर्दा केही चुनौती पनि उनले औंल्याएकी छन् । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार नीति पनि चुनौतीपूर्ण बनेको उनको टिप्पणी छ ।

उनका अनुसार विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखापरेका छन् । ‘एकातिर जारी रुस-युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित छ,’ तिम्सिनाले भनिन् ।

साथै, संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकका लागि नयाँ भन्सार दर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको उनले बताइन् । ‘यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवं बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ,’ उनले भनिन् ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवं आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै रहेको उनको विश्लेषण छ ।

२०८२ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७०औं वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्व र वित्तीय क्षेत्रको प्रवर्धनमा केन्द्रित रहेर नीति निर्माण गर्ने गर्छ ।

सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्