• Menu

सप्तरीमा ९० करोडभन्दा बढीको लगानीमा १३ वटा पुल निर्माण

नेपाल प्रफिट

२०८२ वैशाख १२, शुक्रबार १२:३२

सप्तरीमा ९० करोडभन्दा बढीको लगानीमा १३ वटा पुल निर्माण

सिरहा । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ ।

लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ ।

शम्भुनाथ नगरपालिका-११ देवधारमा ६ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् ।

यसैगरी, कनकटा-९ र बेल्ही-५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज-छिन्नमस्ता सडकबाट बेल्हा-६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका-५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो । राजविराज-कुनौली सडकमा पर्ने महुली घाडन खोलामा ६ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए ।

सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका-१ ललापट्टी-बुटनपोखरी भलवाही पुल तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ ।

यस्तै सोही निर्माण कम्पनीले तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया-१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए ।

यस्तै रुपनी गाउँपालिका-६ दुधैला खोलामा नयाँ वस्ती नजिकै ६ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा-बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी, रुपनी गाउँपालिका-६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका-९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिश भएको छ ।

प्रतिक्रिया दिनुहोस्