म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।
पूर्वाधार विकास कार्यालयका अनुसार ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२.५ किलोमिटर र १० करोड ७० लाखको लागतमा सिम-पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।
मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिका गाउँपालिका-६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ ।
दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।