• Menu

गण्डक जलविद्युत केन्द्रको नहर मर्मतका कारण विद्युत उत्पादन डेढ महिनादेखि बन्द

नेपाल प्रफिट

२०८२ वैशाख ११, १५:२८

गण्डक जलविद्युत केन्द्रको नहर मर्मतका कारण विद्युत उत्पादन डेढ महिनादेखि बन्द

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिका-७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत केन्द्ररको विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको छ ।

जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुषालले जलविद्युत केन्द्रको विद्युत उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत उत्पादन बन्द भएको छ । भारतले जलविद्युत केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि विद्युत उत्पादन रोकिएको उनले बताएका छन् । गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले बताए ।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ । नेपाल-भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ । यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत उत्पादन बन्द रहेको प्रमुख भुषालले बताए ।

भारतीय पक्षले हरेक वर्ष कार्तिक-मंसिर र चैत-वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ । यसले गर्दा हामिलाई घाटा हुनेगरेको उनले बताएका छन् ।

नहरमा पानी बन्द भएपछि विद्युत् ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए । १५ मेगावाट विद्युत उत्पदान क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन विग्रेर थन्केको छ ।

गण्डक जलविद्युत केन्द्रमा रहेको विद्युतिय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिर्वतन गरी सुधार गर्नुपर्ने देखिएको उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्