काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी प्रवर्धन केन्द्र (टीईपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा भएको छ । महासंघले मंगलबार सचिवालय टेकुमा पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी गराएको हो ।
२०८२ वैशाख २५ देखि २९ सम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बंगलादेशका व्यवसायीले स्टल राख्नेछन् भने मेलामा थाइल्यान्डको पनि सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टल रहनेछन् । स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले मेला अवलोकन गर्ने अपेक्षा राखिएको उनले जनाए ।
यस्तै, अर्का उपाध्यक्ष हेमराज ढकालले दसौँ संस्करणको यो मेलामा मेड इन नेपाल पेभेलियन र वस्तुगत संघहरुको पेभेलियन रहने जानकारी गराए । यस्तै मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरुका उत्पादनहरुका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (ईभी) समेत रहेन उनले बताए ।
यस्तै महासंघका केन्दीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफलसमेत हुने जानकारी दिए ।
टीईपीसीका वरिष्ठ अधिकृत मीनबहादुर कुँवरले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारीकरणका लागि मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
मेलामा चीनबाट पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्ट्रिकल्स तथा अटो मोबाइल्स, फुड एन्ड बेभरेज, मिल्क प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच, बंगलादेशबाट गार्मेन्ट्स, पाकिस्तानबाट लेदर तथा गार्मेन्ट्सका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
मेलाको मुख्य प्रायोजकका रुपमा आइएमई पे तथा स्पोन्सरका रुपमा हेरिटेज कार्पेट रहेको प्यापार मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिए । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले समक्ष नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेश पत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ ।
विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआईटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ ।