• Menu

नबिल बैंकले नौ महिनामै कमायो ५ अर्बभन्दा बढी नाफा, वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै

नेपाल प्रफिट

२०८२ वैशाख ७, १३:२०

नबिल बैंकले नौ महिनामै कमायो ५ अर्बभन्दा बढी नाफा, वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नाफा ५ अर्ब नाफा कमाएको छ । बैंकको नाफा समीक्षा अवधिमा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । गत वर्षको पहिलो नौ महिनामा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानी पनि घटेको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकको कर्जा ७.३८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्ममा ३ खर्ब ७३ अर्ब ५७ करोड ४२ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आइपुग्दा ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । यो अवधिमा बैंकको कर्जा २७ अर्ब ५९ करोडले बढेको हो । त्यस्तै बैंकको निक्षेप पनि ८.६६ प्रतिशत अर्थात् ४० अर्बले बढेर ५ खर्ब २ अर्ब ११ करोड पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी भने १५ अर्ब ३२ करोड ८६ लाखबाट घटेर १५ अर्ब २६ करोड ५४ लाखमा झरेको छ । बैंकले चैत मसान्तसम्ममा सम्भावित कर्जा नोक्सानीका लागि २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ ।

गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटेपनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंककको खुद सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाखबाट बढेर ७ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको हो । यस आधारमा बैंकको लाभांश क्षमता १२.६८ प्रतिशत छ ।

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ भने जगेडा कोषमा ३१ अर्ब ३१ करोड ५५ लाख सञ्चित छ । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसाबाट बढेर २५ रुपैयाँ ५ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १९.४४ गुणा छ ।

प्रतिक्रिया दिनुहोस्