• Menu

चीन र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ‘८ नियम’को चर्चा

नेपाल प्रफिट

२०८२ वैशाख ७, ०९:०९

चीन र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ‘८ नियम’को चर्चा

काठमाडौं । चीनको विकास र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सी चिनफिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विभागले सन् २०१२ मा स्वीकृत गरेका ‘८ नियम’ र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा चर्चा भएको हो ।

फ्रेन्डसन अन क्लाउड नामक संस्थाले काठमाडौंमा आयोजना गरेको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा पूर्वसचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्किएका पत्रकार रोहन श्रेष्ठ, दिलबहादुर केसी, चलचित्र नायक कृष्ण मल्ललगायतले राष्ट्रपति सीका ‘८ नियम’ र आफ्नो अनुभवबारे धारणा राखेका छन् ।

कार्यक्रममा उनीहरुले चीनले गरेको अभूतपूर्व विकासमा चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेका ‘८ नियम’ नै मुख्य कारक रहेको निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखे । आधुनिक समाजवादी चीनको विकास सन् २०१२ डिसेम्बर ५ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी भएपछि लागू गरेको ‘८ नियम’ले नै काम गरेको उनले बताए ।

‘यो अवधि चीन विकासको तेस्रो अवधि हो,’ उनले भने, ‘चीनको पहिलो अवधि सन् १९४९ मा माओत्सेतुङले गरेको राजनीतिक क्रान्तिपछिको र दोस्रो अवधि सन् १९७८ मा दिङस्या ओपिङले आर्थिक उदारीकरणको नीति खुला गरेपछि भएको थियो ।’

त्यस्तै पूर्वसचिव सिटौलाले चीनले गरेको प्रगति र अनुभव नेपालको विकास र समृद्धिका लागि आधार बन्न सक्ने धारणा राखे । त्यस्तै नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधिलगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराए ।

विश्वको दोसो ठूलो अर्थतन्त्र भएको देश चीन सडक, रेल्वे, ऊर्जा, गगनचुम्बी भवन, पर्यटन, कृषि र औद्योगिक विकास जस्ता पूर्वाधारमा निकै अगाडि छ । पूर्वाधार विकास, लगानी र मेहनतका कारण चीनको उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धनमा उल्लेख्य प्रगति भएको छ ।

त्यस्तै चीनले गरिबीको दर शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको छ । इलेक्ट्रोनिक उत्पादन, विद्युतीय गाडी, ऊर्जा उत्पादन र व्यापारमा फड्को मारेको छ । नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वमा २५ सदस्यीय टोली छोङछिङ र सान्सी प्रान्तका विभिन्न औद्योगिक, राजनीतिक, कृषि, सांस्कृतिक र पर्यटकीय क्षेत्रको भ्रमण गरेको थियो ।

चीनलाई आधुनिकता दिने ८ नियम

सन् २०१२ मा जारी गरिएका हुन् ८ नियम, जसले पार्टी सदस्यहरूलाई अनुशासनमा राख्न र भ्रष्टाचार नियन्त्रण गर्न मार्गदर्शन गर्छ । यी नियम चिनियाँ राष्ट्रपति चिनफिङको नेतृत्वमा पारित गरिएको हो । मूलतः यी नियम पार्टी अधिकारीहरूको आचरण सुधार गर्ने उद्देश्यले ल्याइएको हो ।

* अनावश्यक औपचारिकता र ब्युरोक्रेटिक झन्झट हटाउने ।

* जनसाधारणसँगको सम्पर्क मजबुत बनाउने र उनीहरूको अवस्था बुझ्ने ।

* अनावश्यक बैठक, सेमिनार र औपचारिक कार्यक्रम कम गर्ने ।

* सरल, व्यावहारिक र संक्षिप्त रिपोर्ट लेख्ने र भाषण गर्ने ।

* प्रभावकारी र छोटो बैठक सञ्चालन गर्ने ।

* सरकारी भ्रमण र कार्यक्रमहरूमा सादगी अपनाउने ।

* स्वागत समारोह, रात्रि भोज आदिमा फजुल खर्च नगर्ने ।

* पार्टी सदस्यहरूले अनुशासन, सादगी र जनताको सेवामा समर्पित भावना प्रदर्शन गर्ने ।

प्रतिक्रिया दिनुहोस्