• Menu

धवलागिरि गाउँपालिकाद्वारा १२ करोड ६६ लाखका दुई बहुवर्षीयसहित ६ गौरवका आयोजना सञ्चालन

नेपाल प्रफिट

२०८२ वैशाख ५, शुक्रबार १२:३८

धवलागिरि गाउँपालिकाद्वारा १२ करोड ६६ लाखका दुई बहुवर्षीयसहित ६ गौरवका आयोजना सञ्चालन

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ६ वटा गौरवका आयोजना सञ्चालन गरेको छ । १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना सालबसाली हुन् ।

संघीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा सञ्चालित चारवटा सालबसाली आयोजनाको ठेक्का सम्झौता गरेर कार्यान्वयन थालिएको गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिए ।

प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको ४० लाख विनियोजन गरेको वडा नं ४ मुदीको वडा कार्यालय भवन निर्माणका लागि मालिका भगवती कन्ट्रक्सनसँग ८४ लाख ९६ लाखमा ठेक्का सम्झौता भएको छ ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर चारकोठे भवनको भुइँ तलामा ढलानको तयारी गरेको छ । पहिलो तलामा सभाहल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारको एक करोड १० लाख विशेष अनुदान प्राप्त भएको मन्छिम-शिवाङ-हिलापोखरी ‘एक घर, एक धारा’ खानेपानी योजना निर्माणका लागि बागेश्वरी कन्ट्रक्सन काठमाडौँसँग ८२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको छ । यस आयोजनामार्फत धवलागिरि-७ का मच्छिम, शिवाङ र हिलापोखरीका करिब तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

संघीय सरकार र गाउँपालिकाले ३५-३५ लाख विनियोजन गरेको लुलाङ-गुर्जा सडक निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सन प्रालिले ३२ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको छ ।

गत वर्ष संघीय, प्रदेश र गाउँपालिकाले विनियोजन गरेको ६ करोड बजेटबाट लुलाङ-गुर्जा सडकको लुलाङबाट देउराली लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताए । यस वर्षको ठेक्कामार्फत लत्रवाङबाट गुर्जातर्फ सडक निर्माण गर्न थालिएको छ ।

त्यसैगरी, संघीय विशेष अनुदान ४० लाख बजेट विनियोजन भएको मुदी ढल व्यवस्थापन योजनाका लागि भण्डारी ढोरपाटन निर्माण सेवाले ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको छ । योजनामार्फत मुदीगाउँमा ढल व्यवस्थापनका लागि चार सय मिटर पक्की नहर निर्माण गरिने पूर्वाधार शाखाका प्रमुख रावलले बताए ।

बर्खामा बस्तीमाथिको पाखोबाट आउने बाढीलाई व्यवस्थित बगाउन पक्की नाला निर्माण गर्न लागिएको हो । वडाध्यक्ष घर्तीका अनुसार दुई सय ७० घरपरिवारको बसोबास रहेको मुदीमा बर्खायाममा बस्तीमाथिको पाखोबाट आउने बाढीले जोखिम बढाएको थियो ।

वडा नं ३ घट्टेखोलामा सात करोड ७८ लाखमा ठेक्का सम्झौता भएको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ । जुम्ली-प्रतिष्ठा-माछापुच्छ्रे जेभीले ठेक्का लिएको भवनको हालसम्म तीन करोड ९० लाख भुक्तानी भइसकेको छ । भवनको मुख्य संरचनाको काम सकेर रङरोगन, घेराबार र चमेनागृह निर्माण भइरहेको छ ।

वडा नं ७ ताकममा चार करोड ८८ लाखमा ठेक्का सम्झौता भएको पाँच शय्या क्षमताको अस्पताल भवनको दोस्रो तलासम्म ढलान सकिएको छ । हालसम्म दुई करोड ३४ लाख भुक्तानी भइसकेको यस भवन निर्माणका लागि बिएम-आइएस-एसी जेभीले ठेक्का लिएको थियो ।

धवलागिरि गाउँपालिकाको गाउँसभाबाट चालु आवका लागि छनोट भई बजेट विनियोजन भएका एक सय पाँचमध्ये एक सय दुईवटा योजनाको सम्झौता भएको र उपभोक्ता समितिसँग सम्झौता भएको योजना वैशाख महिनाभित्र सम्पन्न हुने चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताए ।

गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ७८ वटा योजनाको सम्झौता गरिएको थियो । चालु आवमा पूर्वाधार योजनाका लागि करिब १५ करोड बजेट विनियोजन भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्