काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पारेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको बिहीबार उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए ।
उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने पनि प्रस्ट पारे । अधिनायकवाद परास्त भएर लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने चेनावनी उनले दिए ।
‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ,’ उनले भने, ‘चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौँ ।’
हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास रहेको उनले बताए । ‘हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्छौं । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिने छैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यस कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए । अध्यक्ष ओलीले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरुको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे ।