• Menu

संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन आवश्यक छ : वनमन्त्री शाही

नेपाल प्रफिट

२०८२ वैशाख २, १७:१९

संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन आवश्यक छ : वनमन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उनले संरक्षण क्षेत्रले अब आफैँ राजस्व संकलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

शाहीले भने, ‘पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव-वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।’

कार्यक्रममा वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले विभागले संरक्षणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा काम गर्नुपर्ने बताए । साथै उनले स्थानीय समुदायमा संरक्षणप्रति अपनत्वका साथ बुझाइमा एकरुपता ल्याउनुपर्ने सुझाए ।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै प्राप्त उपलब्धिलाई जोगाउन चुनौतीको सामना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिए । साथै उनले सप्ताह कार्यक्रमले संरक्षणका लागि जनचेतना फैलाउन ठूलो योगदान पुग्ने उल्लेख गरे ।

कार्यक्रममा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, वन प्राविधिक संघका अध्यक्ष डा. राकेश कर्ण, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. चिरिञ्जीवीप्रसाद पोखरेल, वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्ण, जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका डा. दिनेश न्यौपानेलगायतले मानव-वन्यजन्तु द्वन्द्व संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्दै समाधानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्