• Menu

बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा

नेपाल प्रफिट

२०८१ चैत २८, १७:१६

बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा

बागलुङ । बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् । २०७३ साल असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसंख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।

यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।

हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उनको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताए ।

उनले भने, ‘बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।’

निसीखोला गाउँपालिका-५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गरे । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच-सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु’ पुनले भने, ‘गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्