• Menu

उत्पादनमूलक क्षेत्रपछि प्राविधिक जनशक्ति निर्माणमा आइएमई ग्रुप, बर्सेनि १० हजार दक्ष युवा तयार पार्ने उद्घोष

नेपाल प्रफिट

२०८१ चैत १२, १५:४०

उत्पादनमूलक क्षेत्रपछि प्राविधिक जनशक्ति निर्माणमा आइएमई ग्रुप, बर्सेनि १० हजार दक्ष युवा तयार पार्ने उद्घोष

काठमाडौं । फागुन तेस्रो साता मधेस प्रदेशको महोत्तरीमा २ अर्ब लगानीमा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज स्थापन गरेको आइएमई ग्रुपले त्यसको एक महिना नबित्दै प्राविधिक जनशक्ति उत्पादनमा हात बढाएको छ । अढाई दशकको व्यावसायिक यात्रामा बैंक तथा वित्तीय क्षेत्र, बिमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, म्यानुफ्याक्चरिङ, जलविद्युतलगायतका क्षेत्रमा अनेकौं उद्योग र परियोजना सञ्चालन गरेको आइएमई ग्रुपले दक्ष जनशक्ति उत्पादनका लागि स्कुल सञ्चालनमा ल्याएको हो ।

वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा सुकेधारामा काठमाडौं टेक्निकल स्कुल (केटीएस) सञ्चालनमा आएको छ । रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न स्थापना गरिएको काठमाडौं टेक्निकल स्कुलको मंगलबार भव्य समारोहबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् ।

स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरु सञ्चालन गर्ने जनाइएको छ । स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए । प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको उनले स्पष्ट पारे ।

‘सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ,’ उनले भने, ‘स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नेछ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अघि बढेको बताए ।

‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘हामीले आगामी एक दशकमा एक लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ ।’

सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए । अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी र युवाशक्तिको पलायन रहेकाले सीप विकास नै यसको समाधान रहेको उनको धारणा छ ।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा आज उद्घाटन गरिएको यस स्कुलले सहयोग पुग्ने बताए । केटीएसले युवालाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

‘स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्नेमात्र होइन, नेपालभित्रै विभिन्न अवसर सिर्जना गर्नेछ,’ उनले भने, ‘केटीएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको छ ।’

कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्