काठमाडौं । योगदानकर्तालाई दिने सुविधालाई बृहत र समायानुकूल बनाउन सामाजिक सुरक्षा कोषले फेरि कार्यविधि संशोधन गरेको छ । श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ पाँचौँ पटक संशोधन गरी सुविधा विस्तार गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट २०७५ मंसिर ६ मा स्वीकृत भएको कार्यविधि औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेकालाई कोषमा आकर्षित गराउन पटक–पटक संशोधन भइसकेको छ । २०७६ असार २९, २०७७ माघ २९, २०७९ असोज ५, २०८० फागुन १७ मा गरी चौथो पटक संशोधन भएको कार्यविधि २०८१ पुस १० मा पाँचौँ पटक संशोधन भएको हो ।
पाँचौँ संशोधनले योगदानकर्ताको पुरै परिवारको स्वास्थ्यको जिम्मा लिएको छ । संशोधित व्यवस्थाअनुसार अब योगदानकर्ताका पति, पत्नी वा छोराछोरी दुर्घटनामा परे भने पनि उपचार सुविधा पाउने भएका छन् । ‘योगदानकर्ताको पति, पत्नी वा १८ वर्ष उमेर पूरा नभएका छोराछोरी दुर्घटनामा परी उपचार गराउँदा एक लाख रुपैयाँसम्मको उपचार सुविधा’ पाउने गरी कोषले कार्यविधि संशोधन गरेको छ । यसअघि योगदानकर्ताका पति, पत्नी वा छोराछोरीलाई औषधोपचार र स्वास्थ्य तथा मातृत्व सुविधा भए पनि दुर्घटना सुविधा थिएन ।
त्यस्तै दोस्रो महत्वपूर्ण संशोधनमा ‘६० वर्ष उमेर पूरा गरेका र कोषमा कम्तीमा १८० महिना न्यूनतम आधारभूत पारिश्रमिकभन्दा कम नहुने गरी योगदान गरेका योगदानकर्ताले निवृत्तिभरण सुविधा लिँदा निवृत्तिभरण रकमको १ प्रतिशत मासिक योगदान गरी (चाहेमा) आजीवन औषधि उपचार सुविधा’ पाउने भएका छन् ।
योगदानकर्तालाई ६० वर्ष पूरा भएपछि कोषबाट निवृत्तिभरणबापतको नियमित आम्दानी हुने भए पनि औषधोपचार सुविधाका सम्बन्धमा कुनै व्यवस्था थिएन । कार्यविधि संशोधनसँगै अब उदाहरणका लागि मासिक २० हजार रुपैयाँ निवृत्तिभरण पाउन योग्य योगदानकर्ताले कोषमा २०० रुपैयाँ मासिक जम्मा गरेमा आजीवन औषधि उपचार सुविधा पाउनेछ ।
त्यस्तै निवृत्तिभर पाउन थालेको सात वर्ष पूरा नहुँदै मृत्यु भएमा योगदानकर्ताका परिवारले पाउने सुविधाको दायरा पनि पाँचौं संशोधनले बढाएको छ । निवृत्तिभरण प्राप्त गर्न सुरु गरेको सात वर्ष पूरा नहुँदै योगदानकर्ताको मृत्यु भएमा पति वा पत्नीलाई सात वर्ष अवधिसम्म योगदानकर्ताले प्राप्त गरेसरह र त्यसपछि आजीवन मासिक ५० प्रतिशत निवृत्तिभरण सुविधा पाउने व्यवस्था कार्यविधिले गरेको छ ।
पाँचौँ संशोधनले स्वास्थ्य सुविधालाई बृहत् बनाएको कोष उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले बताए । ‘एक जना श्रमिक कोषमा आबद्ध भएर नियमित योगदान गर्यो भने ऊ र उसको परिवारको स्वास्थ्यको सम्पूर्ण जिम्मा राज्यको हो भन्ने कुरालाई पाँचौँ संशोधनले स्पष्ट गरेको छ,’ उनले भने, ‘ पाँचौं संशोधनको मूल मर्म यही हो ।’
योगदानकर्ताको पति, पत्नी वा छोराछोरीको औषधोपचार एवं दुर्घटना सुविधा थप गर्नुका साथै नियमित आम्दानी गर्न सक्ने उमेर पार भएपछि पनि औषधोपचार सुविधालाई निरन्तरता दिन निवृत्तिभरण रकमको जम्मा १ प्रतिशतबाट आजीवन उपचार सुविधा दिने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे ।
त्यस्तै पहिलो स्किमअन्तर्गत हाल एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्दै आएको कोषले अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्था (आईपीडी)मा थप १० लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गर्ने गरी कार्यविधि संशोधन गरेको छ । कम्तीमा ६० महिना योगदान गरेको योगदानकर्ता यो सुविधाका लागि योग्य हुनेछन् भने एक लाखभन्दा माथिको उपचारमा योगदानकर्ताले ५० प्रतिशत व्यहोर्नुपर्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।
यसबाहेक कार्यविधिको पाँचौँ संशोधनले अन्य सुविधा पनि विस्तार गरेको छ । पाँचौँ संशोधनअनुसारको सुविधा योगदानकर्ताले २०८२ वैशाख १ बाट लिन सक्नेछन् ।
कोषमा हालसम्म औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगार क्षेत्रका गरी २० हजारभन्दा बढी रोजगारदाता र २० लाख २६ हजारभन्दा बढी योगदानकर्ता आबद्ध भएका छन् । त्यस्तै ७४ अर्ब २६ करोडभन्दा बढी योगदान रकम जम्मा भएको छ भने १३ अर्ब १० करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ ।
यस्ता छन् अरु सुविधा
योगदानकर्ताका श्रीमान् या श्रीमती र छोराछोरीले पहिलो स्किमअन्तर्गतको औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत उपचार पाउने व्यवस्था छ । पहिलो स्किमअन्तर्गत ३१ प्रतिशत मध्येबाट १ प्रतिशत रकम छुट्याइएको छ ।
त्यस्तै तीन महिनासम्मको शिशुको उपचार खर्च, १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च र योगदानकर्ता वा योगदानकर्ताकी पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक (हाल रु. १७,३००) बराबरको शिशु स्याहार खर्च पनि उपलब्ध हुनेछ ।
महिला योगदानकर्ता भए आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम पनि कोषले प्रदान गर्छ । योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा डाक्टरको सिफारिसमा ‘बेड रेस्ट’मा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम पनि प्राप्त हुने व्यवस्था छ ।
औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबाहेक हाल योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सुविधा पाउँदै आएका छन् ।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च र अन्य दुर्घटनाको हकमा वार्षिक ७ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त हुनेछ ।
कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन र अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउन्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत उपलब्ध हुनेछ ।
स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शतप्रतिशत मानेर आजीवन उपलब्ध गराइने कोषले जनाएको छ ।
आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता पाउनेछन् ।
त्यस्तै मृतक योगदानकर्ताका बालबच्चा (२ जनासम्म)ले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउनेछन् । अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउछन् । तर, शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू हुँदैन ।
योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत रकम आजीवन पाउने उपकार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार अविवाहित योगदानकर्ताको हकमा आश्रित बाबु या आमाले यो सुविधा पाउने व्यवस्था छ । त्यसबाहेक योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ २५ हजार रुपैयाँ आश्रित परिवारले पाउनेछ ।
वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण योजना र अवकास सुविधा योजना पर्छन् । निवृत्तिभरण योजनामा योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तभरण उपलब्ध हुनेछ । तर, निवृत्तिभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तभरणबापत पाउनेछन् ।
अवकाश सुविधा योजना अन्य अवकाश कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुनेछ । योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा पनि जम्मा गर्न सक्ने व्यवस्था छ ।
सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तिभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भएजति रकम अवकाश सुविधा योजनामा जम्मा गर्न सकिन्छ । रोजगारीको अन्त्य हुँदा वा अवकाश हुँदा यो योजनामा जम्मा भएको रकम योगदानकर्ताले प्रतिफलसहित भुक्तानी पाउने उपकार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।
योगदानकर्ताले यस योजनाको रकमबाट जम्मा गरेको ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा पाउनेछन् ।
त्यस्तै ३६ महिना योगदान गरेको योगदानकर्ताले सहुलियत ब्याजदरमा ७५ लाख रुपैयाँसम्म घर सापटी र ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटीसमेत प्राप्त गर्न सक्छन् । यस्तो सापटी भने धितोमा आधारित हुनेछ ।
योगदानकर्ताका लागि कर छुट सुविधा पनि रहेको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार करयोग्य आयको एक तिहाइ वा ५ लाखमध्ये जुन कम हुन्छ, त्यो रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले कोषमा जम्मा गरेमा आयकर प्रयोजनका लागि घटाउन पाउनेछन् । ‘कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर पनि छुट हुने व्यवस्था छ,’ उनले भने ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal