• Menu

पाथीभरा केबलकार विवाद : किन हुन्छ उद्योगी व्यवसायीमाथि हिलो छ्याप्ने कुचेष्टा ?

डीआर आचार्य

२०८१ माघ १८, शुक्रबार १०:५९

पाथीभरा केबलकार विवाद : किन हुन्छ उद्योगी व्यवसायीमाथि हिलो छ्याप्ने कुचेष्टा ?

काठमाडौं । पृष्ठभूमिमा कोशी प्रदेश नामकरणसँग पहिचानवादी समूह हौं भनेर दाबी गर्नेहरुले प्रदेश १ को नामकरणका समयमा चर्कै विरोध गरे । तर, त्यो विरोधले प्रदेशको नामकरणमा निर्णायक परिणाम दिन सकेन । अन्तत प्रदेश १ को नाम कोशी प्रदेश नै भयो ।

राजनीतिक रुपमा त्यसबेला पछि हट्न बाध्य भएको त्यही पहिचानवादी समूह यतिखेर पाथीभरा केबलकार निर्माणको अवरोध गर्दै विरोधको अगुवाइ गरिरहेको छ । अनेक राजनीतिक अभीष्ट पूरा गर्न स-सानो गुटदेखि ठूला भनिएका पार्टी तथा समूहहरुले विकासका काममा अवरोध सिर्जना गर्ने चलन नेपालमा नौलो होइन ।

ताप्लेजुङमात्र नभई, समग्र पूर्वी क्षेत्रको आध्यात्मिक तथा प्राकृतिक पर्यटनमा ‘गेमचेन्जर’ मानिएको पाथीभरा केबलकारले पनि त्यही नियति व्यहोर्नुपरेको छ । सौदाबाजीका लागि सबै विकल्प खोजिरहेकाहरुबाट हरेक परियोजनाहरुमा सधैँजसो ‘धमिलो पानीमा माछा मार्ने’ काम हुने गरेको छ ।

अहिले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल एवं हिन्दू र किराँत समुदायको महत्वपूर्ण शक्तिपिठ पाथीभरामा केबलकार निर्माणको काम सुरु भएपछि चर्किएको आन्दोलनको अन्तर्यबारे धेरै मानिस अनविज्ञ छन् ।

यही बीचमा केही व्यक्ति र समूहले मुलुकका एक कर्मठ उद्योगी एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालमाथि अनर्गल टिप्पणीसमेत गर्न भ्याए । पाथीभरा केबलकारसँगै उनी संलग्न ग्लोबल आइएमई बैंक र अन्य उद्यमलाई समेत जोडेर हतोत्साहित बनाउने काम हुन पुग्यो ।

त्यसो गरिरहँदा पहिचानवादी समूहले ग्लोबल आइएमई बैंक र अन्य उद्यम सार्वजनिक लगानीका समेत हुन् भन्ने तथ्य नै बिर्सिए । सार्वजनिक लगानीका उद्यमलाई हिलो छ्याप्दा ढकाल जस्ता संस्थापकलाई भन्दा ठूलो नोक्सानी सर्वसाधारण लगानीकर्तालाई पुग्छ भन्ने हेक्का राखेनन् ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन मुलुकको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहले गरिरहेको छ । पाथीभरा केबलकारको विरोध गर्नुअघि सो समूहले यसअघि निर्माण गरेको चन्द्रागिरि हिल्स पर्यटकीय पूर्वाधारलाई हेरौँ ।

आइएमई समूहअन्तर्गतकै चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार निर्माण गरेपछि काठमाडौंको चन्द्रागिरि नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । काठमाडौंबासीले नै कमै सुनेको धार्मिक स्थल भालेश्वर महादेव मन्दिर देश-विदेशसम्म प्रख्यात भएको छ । २०७३ पुस १ देखि सञ्चालनमा आएको केबलकार चढेर अहिले दैनिक हजारौँ मानिस चन्द्रागिरिमा रमाउन पुग्छन् । चन्द्रागिरि क्षेत्रको स्वरुप नै फेरिएको छ ।

त्यस्तै नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनीमा पनि आइएमई समूहकै अग्रसरतामा केबलकार सञ्चालनमा आइसकेका छन् । कर्णालीको चिसापानीमा जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ । यी हरेक आयोजना निर्माण अवधिअगावै सकिएका छन् । हरेक ठाउँ आकर्षक पर्यटकीय गन्तव्यमा परिणत भइरहेका छन् ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकारको काम पनि १५ महिनाभित्रै सम्पन्न गर्ने गरी निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले गति बढाएको थियो । तर, काम सुरु भएको केही दिन नबित्दै पाथीभरा क्षेत्रलाई रणमैदान बनाउने काम भएको छ ।

ताप्लेजुङका सबै राजनीतिक दल, सांसद, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढिरहँदा ‘नो केबलकार’का नाममा सुरु भएको प्रदर्शनका क्रममा २१ सुरक्षाकर्मी र ५ प्रदर्शनकारी घाइते भएका छन् ।

‘नो केबलकार’ पक्षधरका केही मानिसले केबलकार परियोजनाका कारण ‘मुन्धुम संस्कृतिमाथि अतिक्रमण हुने’ आरोप लगाइरहँदा ताप्लेजुङको प्रदर्शनलाई उग्र बनाउन पाँचथर, इलाम र धनकुटा जिल्लाबाट ‘व्यापारी’ पुगेका छन् । अनेक खालका भ्रम फैलाएर प्रदर्शनकारी बटुल्ने काम भइरहेको छ ।

केबलकार कान्छीथान माथिबाट लैजाने र पाथीभरा डाँडासम्म नै पुर्‍याउने, २५ हजार रुख काटिने, मन्दिर क्षेत्रमा होटल र रिसोर्ट निर्माण हुने, जसका कारण मन्दिरको मौलिकता र पहिचान नष्ट हुनेसम्ममा गलत प्रचार भइरहेका छन् ।

तर, वास्तविकता निकै फरक छ । केबलकार कान्छीथानभन्दा २ सय मिटर परबाट जान्छ । मन्दिरभन्दा ८ सय मिटर तल टप स्टेसन बन्छ । २ हजार ११२ वटामात्र रुख काटिन्छन् । पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट बन्दैनन् । परियोजनाको नाम नै पाथीभरा देवी ‘मुकुम्लुङ’ राखिएकाले लिम्बू सभ्यता नष्ट हुँदैन, बरु युगौँ युग बाँचिरहन्छ ।

अहिले हजारौँ तीर्थालु र पर्यटक पुगेको पाथीभरामा त्यसपछि लाखौँ पुग्छन् । नेपालीमात्र नभएर भारतको सिक्किम, दार्जिलिङ, आसाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहारलगायत क्षेत्रबाट ठूलो संख्यामा पर्यटक र दर्शनार्थी आउँछन् ।

पाँचथरका जलजले, जोरपोखरी अनि इलामका माई पोखरी, अन्तुडाँडा र कन्यामका चियावगानमा सुस्ताउँदै फर्किन्छन् । ताप्लेजुङको मात्र नभएर कोशी प्रदेशका तीनवटै जिल्लाको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिकता अभिवृद्धि हुन्छ ।

आइएमई समूहले देखेको केबलकार परियोजनाको वृहत्तम परिदृष्य हो यो । तर, अहिले ‘नो केबलकार’का नाममा केही भरिया र केही फूलमाला व्यापारीको भावनामा खेलेर पाथीभरा क्षेत्रसँगै समग्र ताप्लेजुङबासीको समृद्धिको चाहनामा ठेस पुर्‍याउने काममात्र भइरहेको छैन, प्रतिकूल परिस्थितिमा पनि अर्बौं रुपैयाँ लगानी गर्न उद्यत् उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउने काम भइरहेको छ ।

०००

करिब दुई वर्षयता अर्थतन्त्र सुस्ताएको छ । रोजगारी सिर्जना ठप्प छ । युवा वर्ग कतै पनि आशा गर्न नसकेर विरक्तिएको छ । दैनिक दुई हजार युवा विदेशी भूमिमा पसिना बगाउन जन्मभूमि छाडिरहेका छन् । कतिपय नफर्किने गरी हिँडेका छन् ।

लगानीको वातावरण छैन । कानुनी अड्चन धेरै छन् । अवरोध धेरै छन् । प्रशासनिक संयन्त्र जटिल र जब्बर छ । मुलुकमा संघीयता कार्यान्वयनमा आएको (२०७४ को निर्वाचन) ७ वर्ष बितिसक्दा पनि विकासको प्रवृत्ति उस्तै छ ।

प्रतिकूल परिस्थितिका कारण उद्योगी व्यवसायीले कर्जाको माग गर्न नसक्दा अर्थतन्त्र एकप्रकारको मन्दीमा फसेको छ । तर, मौका पाउनासाथ अनेकन् लाञ्छना लगाउन थाल्दा उद्योगी व्यवसायीमा थपिन सक्ने निरासाले मन्दीलाई बढाव दिनेछ । आर्थिक मन्दीले सृजना गरेको प्रतिकूलता सबैका आँखाअगाडि छन् ।

सामान्यतः सरकारले १ रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले ३ रुपैयाँ खर्च गर्छ । अर्थतन्त्रले हरेक पुँजीगत खर्चको तीन गुणा प्रतिफल पाउँछ । निजी क्षेत्रलाई कानुनी जञ्जालमा लपेट्ने होइन, काम गर्ने सहज अवसर दिनुपर्छ, दण्ड र सजायको स्पष्ट कानुनी व्यवस्था गर्नुपर्छ । तर, त्यसतर्फ चिन्तन र चासो छैन ।

सबै क्षेत्रलाई नकारात्मकताले गाँजेका बेला चन्द्रप्रसाद ढकालजस्ता केही उद्यमी सम्भावनाका ‘कल्पवृक्षहरु’ रोपिरहेका छन् ।

सबै क्षेत्रलाई नकारात्मकताले गाँजेका बेला चन्द्रप्रसाद ढकालजस्ता केही उद्यमी सम्भावनाका ‘कल्पवृक्षहरु’ रोपिरहेका छन् । हरेक भाषण, हरेक भेटघाट अनि हरेक बहसमा ‘यो देशमा धेरै सम्भावना छ, लगानीका धेरै क्षेत्र छन्, लगानीकर्ताका लागि यो उर्वर भूमि हो’ भनिरहेका छन् ।

उनकै नेतृत्वमा हालै देशभरबाट स-सानो पुँजी एकीकृत गरी मौलिक उद्यमहरुमा लगानी गर्न सबै निजी क्षेत्रको प्रतिनिधित्वसहितको अर्बौं पुँजीको कम्पनी स्थापना भएको छ । स्वदेशमा मात्र होइन, विदेशी भूमिमा पुगेर पनि उनले त्यहाँका उद्योगी व्यवसायीलाई लगानीका क्षेत्रबारे अवगत गराइरहेका छन् ।

०००

आर्थिक संकटले थिचिएको हरेक मानिस पहिला हातमुख जोड्ने उपाय खोज्छ । उसको अन्तिम लक्ष्य नै बिहान-बेलुकाको छाक कसरी टार्ने भन्नेमा केन्द्रित हुन्छ । जब गाँस र बास सुरक्षित हुन्छ, तब मात्र उसमा अरु महत्वकांक्षा बढ्दै जान्छन् ।

उच्च महत्वकांक्षाले भरिए पनि आफ्नो नियमित दिनचर्या र गतिविधिबाट बाहिर निस्किएर फरक ढंगले अघि बढ्ने र जीवनलाई तीव्रगतिमा समृद्ध बनाउने आँट भने सबैमा हुँदैन । जबकि, आँट गरेर अघि बढ्नेहरुले इतिहास कोरेका थुप्रै उदाहरण हाम्रै सामु छन् ।

यस्तै इतिहास रच्नेहरुमध्ये एक हुन्, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । २०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकको चौथो तहको जागिर छाडेर व्यावसायिक पाइला नचालेको भए ढकाल सायद आममानिसको जिन्दगी बाँचिरहेका हुन्थे । सजिलो दिनचर्यामा सन्तुष्ट भएको भए उनी सायद वाणिज्य बैंकको इमानदार कर्मचारीका रुपमा वाहवाही पाइरहेका हुन्थे ।

तर, सहज जागिरे जिन्दगी त्यागेर कठिन व्यावसायिक यात्रा सुरु गरेको साढे तीन दशकको अवधिमा उनले हासिल गरेको उचाइ लोभलाग्दो छ । व्यवसायमा प्रवेश गरेको तीन दशकको अवधिमा उनी २०७९ चैत ३० गते नेपालका निजी उद्योग प्रतिष्ठानहरुको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्न सफल भए । ढकालले निजी क्षेत्रको नेतृत्वको रुपमा देशभित्र स्वदेशी लगानी र वैदेशिक व्यापार मञ्चहरुमा ‘आर्थिक कूटनीति’ प्रवर्धन गरिरहेका छन् ।

बैंकको जागिर छाडेर २०४८ सालमा कार्गो कम्पनी स्थापना गर्दा ढकाल आम व्यवसायीभन्दा भिन्न थिएनन् । त्यही व्यवसायमा कसरी स्थापित हुने होला भनेर रुमल्लिइरहन्थे, दिनरात त्यसैमा घोटिन्थे । फलतः तिनै ढकाल अहिले २० हजारभन्दा बढी मानिसलाई रोजगारी दिन सफल भएका छन् ।

बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि, बिमा, केबलकार, ऊर्जालगायत क्षेत्रका १५ भन्दा बढी उद्योग व्यवसायमा उनले नेतृत्व गरेको आइएमई समूह सफल भइरहेको छ । कतिपय उद्योगी व्यवसायी विभिन्न माध्यमबाट ‘पुँजी पलायन’का गतिविधिमा सक्रिय रहेका तथ्यहरु फेला पर्दा ढकालले आफूले आर्जन गरेको सम्पत्ति नेपाली भूमिमै नयाँ-नयाँ क्षेत्रमा विस्तार गरिरहेका छन् ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माण गौरवको विषय हो । ढुंगे युगमा बसिरहने चिन्तनले देशको विकास हुँदैन । विकासका क्रममा प्राकृतिक स्रोत साधन, सांस्कृतिक सम्पदा, धर्म र संस्कृतिको जगेर्ना प्राथमिकतामा पर्नुपर्छ । तर, समुदाय, क्षेत्र, जिल्ला, प्रदेश र देशको विकासले सांस्कृतिक सम्पदा, धर्म र संस्कृति अझै समृद्ध बन्छ भन्ने भुल्नु हुँदैन ।

मुख्य कुरा भनेको राजनीतिक स्वार्थका लागि उठाइएका क्षेत्रीय, जातीय र अन्य मुद्दाहरुले विकासलाई पछाडि धकेल्नु भनेको युवालाई थप बेरोजगार बनाएर गरिबीमा जिउन अभिषप्त पार्नु हो ।

प्रतिक्रिया दिनुहोस्