• Menu

विचार

किन आवश्यक छ हरित ऊर्जामा लगानी ?

नेपाल प्रफिट

२०८१ माघ १५, १०:३२

किन आवश्यक छ हरित ऊर्जामा लगानी ?

आधुनिक विश्व अर्थतन्त्र कोइला, पेट्रोलियम र प्राकृतिक ग्याँसजस्ता जीवाष्म इन्धनहरूको आविष्कार र प्रयोगमा आधारित भएर निर्माण भएको छ । यी स्रोतहरूले उद्योगहरूलाई ऊर्जा प्रदान गरेका छन्, यातायातलाई सशक्त बनाएका छन् र हाम्रा घरहरू तताउन तथा सहरहरू उज्यालो बनाउन मद्दत गरेका छन् । तथ्याकअनुसार सन् २०२२ मा जीवाष्म इन्धनले विश्वको करिब ८० प्रतिशत ऊर्जा आपूर्ति धानेको थियो, जसमध्ये तेलको मात्र झन्डै ३० प्रतिशत योगदान थियो ।

जीवाष्म इन्धनले अहिलेसम्मको अभूतपूर्व आर्थिक वृद्धिलाई उत्प्रेरित गर्दै नवीनता तथा आधुनिकीकरणलाई सम्भव बनाउनुका साथै औधोगिक सभ्यताको विकास गरेको छ । यो सभ्यताले मानव जातिको ज्ञान र सीपमा व्यापकता ल्याउनुका साथै नयाँ आविष्कार जस्तै सुपर कम्प्युटर र मेसिनबाट सिक्ने प्रविधि आदिको विकाससमेत गरेको छ । धेरै राष्ट्रहरूका लागि तेल, कोइला र ग्याँस (जीवाष्म) केवल वस्तुमात्र नभएर तिनीहरूको आर्थिक समृद्धिको मेरूदण्ड बनेका छन् ।

जीवाष्म इन्धनमा निर्भरता रहनुका कारणले वैकल्पिक ऊर्जाका स्रोतहरू अन्वेषणमा ढिलाइ हुनुका साथै महँगो भएको हुँदा सीमित स्रोतहरूमा आधारित अर्थतन्त्रलाई मूल्य उतारचढावको जोखिममा पारिदिएको थियो र अझै पनि यस्तो अवस्था कायमै छ ।

जीवाष्म इन्धनको प्रयोगले विकासलाई तीव्र पार्दै आएको भए पनि यो ऊर्जा प्रणाली लामो समयका लागि दिगो भने देखिएको छैन । साथै, यसको अत्यधिक प्रयोगबाट हानिकारक ग्रिनहाउस ग्याँस उत्सर्जन भई वायुमण्डलमा थुप्रिएर वायु प्रदूषणको गम्भीर समस्या सिर्जना भएको छ ।

पेट्रोलियम उत्पादनको सबैभन्दा पुरानो ज्ञात प्रयोग लगभग ६  हजार वर्षदेखि भएको मानिन्छ । सन् १८५० देखि क्रुड तेलको उपयोगले आन्तरिक दहन इन्जिनको (Internal Combustion Engine) आविष्कार र पहिलो सफल तेल कुवाको विकाससँगै मानव जीवन पद्धतिलाई परिवर्तन गरी क्रान्तिकारी बनायो । यस क्रममा इन्धन दहनबाट उत्सर्जित विषाक्त ग्याँसहरू स्थल, जल र पृथ्वीको वायुमण्डलमा थुप्रिएको कारण पृथ्वीको प्रणालीलाई व्यापक रूपमा नकारात्मक प्रभाव पुर्‍याएको छ ।

उदाहरणका लागि आकस्मिक स्वास्थ्य उपचार र सेवाका लागि एम्बुलेन्स आवश्यक पर्छ, जसका लागि जीवाष्म तेलको दहन चाहिन्छ । तर, यस्तो प्रक्रियामा SO2,O3, CO2 र NH4 (Sulphur dioxide, Ozone, Carbon dioxide, Methane and Ammonia) जस्ता ग्याँसहरू उत्सर्जन हुन्छन् । जसले मानव स्वास्थ्यलगायत जैविक र अजैविक पद्धतिमा प्रतिकूल असर पार्नुका साथै पृथ्वीको पर्यावरणीय पद्धतिमा नकारात्मक प्रभाव पारिरहेको छ ।

जीवाष्म इन्धनमा आधारित अर्थतन्त्रका नतिजाहरू आज अत्यन्त स्पष्ट देखिन थालेका छन् । पृथ्वी व्यापक रूपमा प्रभावित हुँदैछ । वायुमण्डल, महासागर, हिमनदी प्रणाली, तथा जीवमण्डलमा तीव्र र नकारात्मक परिवर्तनहरू देखा परिरहेका छन् । यसको असर स्वरूप विश्वमा चरम मौसमी घटनाहरू, भीषण बाढी, खडेरी, हिमताल विस्फोट, चक्रवात, मानवीय क्षति तथा जीविकोपार्जनका अवसरहरू गुमाउने घटनाहरू बढिरहेका छन् ।

औद्योगिक युग सुरू हुनुभन्दा अगाडिको सालाखाला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस राख्‍ने आशामा कुठाराघात परिसकेको छ । यो कुरा सन् २०२४ को तथ्यांकले देखाइसकेको छ ।

विश्व जलवायु अध्ययन संस्था (World Meteorological Organization) को सन् २०२४ को एक अध्ययनअनुसार २०२४ को वर्ष सबै विगतका वर्षहरूभन्दा बढी तातो थियो । यसरी वैश्विक तापक्रममा वृद्धिले गर्दा मानव जातिको जीवाष्म इन्धनमा आधारित ऊर्जाको प्रयोगका कारण पृथ्वीको जलवायु पद्धति भविष्यमा कुन बाटो जान्छ भन्न कठिन भइसकेको छ ।

जलवायु परिवर्तनको प्रभाव कम गर्न र विश्वको सालाखाला तापक्रम औद्योगिक विकासअघिको तापक्रम भन्दा १.५ डिग्री सेल्सियस बढ्न नदिन विश्वका देशहरूबाट तयार पारिएको पेरिस सम्झौतालाई समेत सन् २०२४ को विश्वको सालाखाला तापक्रमले नाघेको कुरा विश्व जलवायु अध्ययन संस्थाले बताएको छ । विश्व जलवायु अध्ययन संस्थाको अध्ययनअनुसार यो तापक्रम सन् २०२४ मा १.५३ डिग्री सेल्सियस पुगेको छ ।

यसरी नै युरोपियन युनियनको जलवायु अनुगमन केन्द्र ‘कपरनिकस’को रेकर्डअनुसार सन् २०२४ को तापक्रम औद्योगिक युगको भन्दा १.६ डिग्री सेल्सियस बढी छ । यसैगरी अमेरिकाको वर्कलेको जलवायु अध्ययन ग्रुपले तयार गरेको रिपोर्टअनुसार त अझ यो तापक्रम १.६२ डिग्री सेल्सियस बढेको छ । यी तथ्यांकले पेरिस सम्झौताको कार्यान्वयनमात्र नभएको होइन कि उक्त सम्झौताको ठाडो उल्लंघन भएको सिद्ध हुन्छ ।

पृथ्वीका सम्पूर्ण सागर महासागरहरू विश्व तापमान वृद्धिको चपेटामा परेका छन् । सन् २०२४ को सामुद्रिक सतहको तापक्रमले रेकर्ड तोडेको पाइएको छ । यसले सामुद्रिक प्राणी र सम्पूर्ण जलचर, थलचर इकोसिस्टममा नकारात्मक प्रभाव पारेको छ भने ध्रुवीय हिउँ तथा हिमाल पग्लिनुका साथै रोक्नै नसकिने डढेलो लागिरहेको छ । यसरी जलवायु परिवर्तनको नकारात्मक प्रभाव सम्पूर्ण पृथ्वीमा देखापरेको छ । पृथ्वीमा बढ्दै गएको तापक्रम अस्थायी हो वा दीर्घकालीन हो सो कुरा हेर्न अझ बाँकी नै छ ।

जे भए पनि पेरिस सम्झौता र Intergovernmental Panel on Climate Change (IPCC) को सिफारिस १.५ डिग्री सेल्सियस सालाखाला तापक्रमचाहिँ रहन नसक्ने देखिन्छ ।

तर, आशा अझै जीवित छ । हामी एउटा ऐतिहासिक मोडमा छौँ, जहाँ प्रविधि नवप्रवर्तन, वातावरणीय आवश्यकताहरू र आर्थिक अवसरहरू एकअर्कासँग जोडिएका छन् । हरित ऊर्जामा रूपान्तरण केवल एउटा आदर्श विचारमात्र नभई एक अपरिहार्य आवश्यकता भएको छ । अब हामीले नयाँ र हरित ऊर्जामा लगानी गर्नुपर्छ, ‘सफा, नवीकरणीय र दिगो स्रोतहरू’, जसले हाम्रो पृथ्वी र मानवताको सम्मान गर्नेछन् ।

सौर्य, वायु, जलविद्युत, हाइड्रोजन र भूतापीय ऊर्जाका स्रोतहरूको सदुपयोगले पृथ्वीको कार्बन फुटप्रिन्ट घटाउने ठूलो सम्भावना देखाएका छन् । हाल उदीयमान प्रविधिहरू जस्तै हाइड्रोजन इन्धन तथा उन्नत ब्याट्री ऊर्जा भण्डारण प्रविधिहरूले नवीकरणीय ऊर्जालाई अझ भरपर्दो र किफायती बनाइरहेका छन् ।

सन् २०२२ मा नवीकरणीय ऊर्जाले विश्वव्यापी बिजुली उत्पादनको २९ प्रतिशत हिस्सा ओगटेको थियो, जुन दुई दशकअगाडि मात्र १० प्रतिशत थियो । आगामी पाँच वर्षभित्र सौर्य ऊर्जाको उत्पादन क्षमता ६० प्रतिशतले वृद्धि भई यो विश्वव्यापी रूपमा प्रमुख ऊर्जा स्रोत बन्ने अनुमान गरिएको छ ।

यो रूपान्तरण कार्य त्यति सहज हुने छैन तर यसको आवश्यकता प्रलयकारी विनास रोक्न आवश्यक र सम्भव छ । यसका लागि हामीले अबिलम्ब सामूहिक कदम चाल्न आवश्यक छ । विश्वका सरकारहरूले नीति निर्माणमा अग्रसरता देखाउनुपर्छ, निजी क्षेत्रले हरित प्रविधिमा लगानी बढाउनुपर्छ र समाजले जलवायु सकारात्मक र वातावरणमैत्री अभ्यासहरू अंगीकार गर्नुपर्छ ।

‘फोसिल फ्युलबाट’ टाढा रहेर हरित ऊर्जामा लगानी गर्दा हामी नयाँ आर्थिक संरचना निर्माण गर्न सक्छौं, जहाँ दिगो आर्थिक वृद्धि, ऊर्जा समानता तथा वातावरणीय सन्तुलन स्थापित हुन जान्छ ।

जीवाष्म इन्धनको प्रयोग गरिरहेमा यसको उपलब्धताका कारण असमानता पनि रहन्छ । यसको नकारात्मक प्रभावका कारण मानवीय जीवन पद्धतिमा क्षति, इकोसिस्टममा आघात र जलवायु परिवर्तनको प्रभावका कारण प्रदूषण जस्ता यावत् कारणहरूले हिंसा बढ्ने, विशाल जनसंख्यामा हुने विस्थापन, स्थानान्तरण र भोकमरी तथा जलस्रोतको अभावबाट सिर्जना हुने युद्ध र त्यसबाट हुने विश्वव्यापी सामाजिक अस्थिरता बढिरहनेछ ।

यस अर्थमा यो सम्मेलन अत्यन्तै समयसापेक्ष र सान्दर्भिक छ । किनभने, यसले अन्तर्राष्ट्रिय ऊर्जा रूपान्तरणका अवसरहरू तथा जोखिमहरूको समीक्षा गर्दै हरित ऊर्जामा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । चीनद्वारा अघि सारिएको बेल्ट न्ड रोड इनिसिएटिभले क्रिटिकल इन्फ्रास्ट्रक्चरको विकास र निकासी गर्न मद्दत गरेको छ ।

वर्तमानमा चीनका सडकमा गुड्ने गाडीहरूमध्ये करिब ४० प्रतिशत विद्युतीय छन् । चीन कम दाममा उच्च गुणस्तरको यातायात सामान निकासी गर्ने र शून्य कार्बन उत्सर्जनतर्फ अग्रसर भएका देशहरूमध्ये अग्रपंक्तिमा रहेको देश हो । चीन हरित ऊर्जा प्रविधि र यसको विकासमा विश्वव्यापी अग्रणी राष्ट्र हो । चीन आज वायु ऊर्जा, जलविद्युत, सौर्य ऊर्जा उत्पादन र ऊर्जा भण्डारण प्रविधिमा अग्रस्थानमा छ ।

जलवायु परिवर्तनबाट समानुपातिक रुपमा प्रभावित भए पनि सीमित स्रोत साधन भएका अल्पविकसित र विकासशील देशहरूले चीनले विकास गरेको हरित ऊर्जामा प्रविधि र त्यसको स्थानान्तरणका लागि धन्यवाद दिनुपर्छ ।

नेपालमा हरित ऊर्जा क्षेत्रमा अपार सम्भावना छ । हालसम्म हामीले केवल ३ हजार मेगावाट जलविद्युत् उत्पादन गरेका छौँ, जुन हाम्रो कुल सम्भावित व्यावसायिक क्षमताको एकदम कम प्रतिशतमात्र हो । नेपाल सरकारले सन् २०४५ सम्म नेट-जिरो कार्बन उत्सर्जन प्राप्त गर्ने योजना बनाएको छ । हामीले हरित ऊर्जा प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार गर्नुका साथै कर छुट तथा सुविधा उपलब्ध गराइरहेका छौँ ।

म यहाँ उपस्थित विभिन्न देशबाट पाल्नुभएका लगानीकर्तालाई नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, पवन ऊर्जा, हरित हाइड्रोजन, तथा ऊर्जा भण्डारण परियोजनाहरूमा लगानी गर्न आमन्त्रण गर्दछु । हामी सबै मिलेर पृथ्वीको दिगो भविष्य निर्माण गर्न कटिबद्ध बनौं ।

(वातावरणविद् समेत रहेका नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओलीले चीनमा हालै भएको ११औं चीन नयाँ ऊर्जा अन्तर्राष्ट्रिय सम्मेलन र चीन नयाँ ऊर्जा अन्तर्राष्ट्रिय गठबन्धनको वार्षिक बैठकमा दिएको मन्तव्यमा आधारित)

प्रतिक्रिया दिनुहोस्