काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-१३, झरुवाराशिमा घर बनाइरहेका सन्दीप साहले पुस १४ गते प्रतिबोरा ओपीसी सिमेन्टका लागि ८५० रुपैयाँ तिरे । दुई दिनअघि थप सिमेन्ट माग गर्दा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढिसकेको र सामान पनि एक-दुई दिनपछि मात्र आइपुग्ने जानकारी हार्डवेयर पसलबाट पाए ।
कात्तिकदेखि घर बनाउन चाँजोपाँजो मिलाइरहेका साहलाई त्यसबेला हार्डवेयर पसलेले ओपीसी सिमेन्टको मूल्य ६३० रुपैयाँ बताएका थिए । ‘सबै कागजी काम सकेर सिमेन्ट किन्न जाँदा ८५० रुपैयाँ तिर्नुपर्ने स्थिति आइसकेछ,’ उनले भने, ‘अहिले फेरि ९०० रुपैयाँ पुगेको खबर आएको छ ।’
‘मूल्य किन बढेको ?’ भनेर सोध्दा हार्डवेयर व्यवसायीले ‘फ्याक्ट्रीबाटै मूल्य बढेर आएको र आफूहरुलाई थाहा नहुने’ जवाफ दिने गरेका छन् । ‘मूल्य बढ्ने त कारण हुन्छ होला नि ! कि जे पनि गर्न पाइन्छ ?’ उनले प्रश्न गरे । घर बनाउँदाको अनुमानित लागत बढ्ने भएपछि उनी चिन्तामा छन् ।
उपभोक्तामात्र होइन, सिमेन्टको मूल्य लगातार बढिरहेको विषयमा सिमेन्ट व्यवसायी पनि अनभिज्ञ छन् । काठमाडौं महानगरपालिका-३२, जडिबुटीस्थित पञ्चकन्या हार्डवेयरका सञ्चालक सुदिप खनाल हप्तामै दुई-तीन पटक मूल्य बढ्ने गरेको बताउँछन् ।
‘मंसिर पहिलो सातादेखि बढ्न थालेको हो,’ उनले भने, ‘प्रतिबोरा ६३० रुपैयाँमा बेचिरहेको ओपीसी सिमेन्ट अहिले ९०० पुगिसकेको छ, कारण त हामीलाई पनि थाहा छैन ।’ त्यसबेला साढे ५ सय हाराहारीमा बेचिरहेको पीपीसी सिमेन्ट अहिले ७५० रुपैयाँ पुगेको उनले बताए । खनाल शिवम् र अग्नि सिमेन्ट बेच्छन् ।
‘हामीलाई पनि मूल्यमा मनपरी भएजस्तो लाग्छ, दुई महिनादेखि लगातार मूल्य बढिरहँदा पनि कसैलाई वास्ता छैन, उपभोक्ता पनि खुरुखुरु किनिरहेका छन्, सबैले किन्न बन्द गरिदिए अलि मूल्य घट्थ्यो कि !’ उनले भने ।
उनले सोमबारसम्म प्रतिबोरा ८५० रुपैयाँले बेचेको सिमेन्ट आज पुस २३ देखि ९०० रुपैयाँले बेच्नुपरेको बताए । ‘सामान पनि भनेको बेला पाइएको छैन,’ खनालले भने ।
सिमेन्टको मूल्य यो समयमा हरेक वर्ष यसैगरी बढाउने गरिएको उनले सम्झिए । ‘साउनदेखि कात्तिकसम्म सिमेन्ट बिक्दैन, अनेक खालका स्किम पनि दिन्छन्, भाउ पनि घटाउँछन्,’ खनालले भने, ‘मंसिर लागेपछि स्किम पनि हराउँछ, भाउ पनि बढ्छ ।’ यसपटक भने विगत वर्षहरुको तुलनामा धेरै नै बढिरहेको उनको अनुभव छ ।
ओपीसी सिमेन्टको मूल्य डेढ महिनाको अवधिमा प्रतिबोरा २७० रुपैयाँभन्दा धेरै बढिसकेको छ । तर, सरकारले मूल्यवृद्धिको कारण खोजी गरेको छैन ।
सिमेन्टमा उद्योगीले नै कार्टेलिङ गरेर अस्वाभाविक मूल्य बढाएको भन्दै असन्तुष्टि व्यापक भएपछि मंसिर २६ गते सिमेन्ट उद्योगीहरूले मूल्य घटाउने सहमति गरेका थिए । निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको थियो ।
छलफलका क्रममा उद्योगीहरुले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट प्रतिबोरा ७०० रुपैयाँ र पीपीसी सिमेन्ट ६०० रुपैयाँमा उपलब्ध गराउने विषयमा सहमति गरेका थिए । तर, उद्योग मन्त्रालयमा भएको छलफल कार्यान्वयनमै गएन । त्यसयता पनि लगातार मूल्य बढिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टको मूल्यवृद्धिलाई कुनै प्राथमकिता दिएका छैनन् । कतिपयले मन्त्री भण्डारीकै सहमतिमा उद्योगीले सिमेन्टको मूल्य बढाएको सार्वजनिक आरोप लगाइरहेका छ्न् । तर, उनको मौनता भने आश्चर्यजनक छ ।
सिमेन्टको मूल्य बढ्नुमा कच्चापदार्थको मूल्यवृद्धि या अरु कुनै ठोस कारण छैन । ‘विगतमा अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्य धेरै तल आएको थियो, सबै उद्योगीहरुले नोक्सानीमा उद्योग चलाइरहेका थिए,’ एक सिमेन्ट उद्योगका माथिल्लो तहका कर्मचारीले भने, ‘अहिले अस्वस्थ प्रतिस्पर्धा नगरौँ भन्नेमा भद्र सहमति भएको हो ।’
उनका अनुसार अहिले कच्चापदार्थको मूल्य बढेका कारण सिमेन्टको मूल्य बढेको होइन । ‘हामीले डेढ दशकयताको अवस्थालाई हेर्नुपर्छ,’ उनले भने, ‘यसबीचमा कच्चापदार्थको मूल्यवृद्धि कति भयो ? डिजेल-पेट्रोलको मूल्य कति बढ्यो ? ढुवानी भाडा कति बढ्यो ? यो सबै हेरेर बाध्यात्मक रुपमा मूल्य समायोजन गरिएको हो ।’
अस्वस्थ प्रतिस्पर्धाकै कारण करिब १५ वर्षदेखि सिमेन्टको मूल्य स्थिर रहेको उनले बताए । उनले सिमेन्टको अभावको मूल कारण भने लोडसेडिङ भएको तर्क गरे ।
‘अहिले उद्योगमा १० घण्टासम्म लोडसेडिङ छ,’ उनले भने, ‘नोक्सानीमा रहेका बेला डिजेल चलाउँदा व्ययभार थप बढ्छ, त्यसकारण बत्ती भएका बेलामात्र उद्योग चलाउँदा उत्पादन घटेको छ, मागअनुसार आपूर्ति गर्न सकिएको छैन ।’