म्याग्दी । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् ।
जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ ।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मंसिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए ।
‘हालसम्म दुईलाख १० हजार बराबरका बेर्ना बेचेँ । नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन् ‘ उनले भने । उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ । बेर्नासँगै उनले सागसब्जी पनि लगायनु भएको छ ।
जैविक उत्पादन भएकाले ती खरिद गर्न उहाँको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ । बेनी बजारमा पनि उहाँका उत्पादन केही घण्टामा उपभोक्ताका घरमा पुगिसक्छन् । सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् ।
उनले एक याममा बेर्ना बेचेर दुई लाखभन्दा बढी आर्जन गर्दै आएको बताए । दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ । ‘बीउ र मलमा ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न सफल भएको छु,’ कार्कीले भने ।