काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उनले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको विषय मात्रै होइन, कर्तव्य पनि भएको बताए ।
कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहभागिता लागत घटाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न जरुरी रहेको अर्थमन्त्रीले स्पष्ट पारे ।
करको दायरा विस्तार गर्न, करदातामैत्री वातावरण सिर्जना गर्ने करदाता सेवाको गुणस्तरमा वृद्धि गर्न, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न, कर छली र चुहावट रोक्नेलगायतका कार्यमा थप सक्रियता लिन उनले विभागलाई निर्देशन दिए ।
कार्य प्रक्रिया सरलीकरण गर्न, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक संगठन तथा कार्य विशिष्टीकरणका लागि थप सुधारको पहलकदमी लिन पनि आग्रह गरे ।
यस्तै सूचना प्रविधिको प्रयोगमा विस्तार एवं त्यसको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन निर्देशन दिए ।
संघीयताले आर्थिक केन्द्रहरु विस्तार, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु विस्तारित हुँदा अर्थतन्त्रको आकार बढ्दै गए पनि त्यस अनुपातमा राजस्व संकलन बढ्न नसकेको उनले बताए । अर्थमन्त्री पौडेलले जिम्मेवार र जवाफदेही हिसाबले राजस्व संकलनमा केन्द्रित हुन निर्देशन दिए ।
जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतिको तुलना गर्दा प्रगतिको अवस्था सन्तोषजनक नरहेको उनले स्पष्ट पारे । अर्थमन्त्री पौडेलले बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगतिलगायत लक्ष्यअनुरुप नभएकाले कार्य सम्पादन स्तरमा थप सुधार ल्याउन निर्देशन दिए ।
स्रोत व्यवस्थापनका हिसाबले अहिले असामान्य अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा सामान्य हिसाबले कार्य सम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था नरहेको बताए । राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरुपको प्रगति हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न समान लक्ष्य लिएर कार्य सम्पादनमा लाग्न जरुरी रहेको उनले स्पष्ट पारे ।
‘सरकारप्रति नागरिकको अपेक्षा बढ्दो छ । सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरुले स्रोतमाथिको दबाब बढेको छ । विश्व अर्थतन्त्र पनि दबाबमै रहेको हुँदा बाह्य सहायता परिचालनमा उल्लेख्य सुधार हुन सकेको छैन, ‘ उनले भने ।
अर्थमन्त्रीले सार्वजनिक ऋण सेवा खर्च पनि बढ्दो रहेको यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु अनिवार्य रहेकोतर्फ विशेष ध्यानाकर्षण गराउँदै जिम्मेवार ढंगले कार्य सम्पादनमा लाग्न आग्रह गरे ।
निजी क्षेत्रलाई कर सहभागिता बढाई विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।
‘पहिलो कर अधिकृत करदाता स्वयं आफैँ हो । तसर्थ कानुनबमोजिम लाग्ने कर आफैँ गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता बढाउन योगदान गर्नोस्,’ उनले भने, ‘यसले कर प्रशासनको मात्र होइन, करदाता स्वयंको समेत लागतमा कमी आउँछ । आर्थिक र व्यावसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिस्पर्धालाई समेत प्रवर्धन गर्छ ।’
उत्साहजनक र स्वेच्छिक रुपमा कर सहभागिता बढाउन करदाता र कर प्रशासन दुवै उत्तिकै जिम्मेवार हिसाबले लाग्न जरुरी रहेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले कर दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुने करदाता र कर्मचारीहरुलाई बधाई दिए ।