काठमाडौं । साउनमा महँगी ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को साउनमा उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ ।
गत वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.७५ प्रतिशतले घटेको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९४ प्रतिशत, मदिराजन्य पेयपदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ । बिमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन ।
साउनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०३ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा साउनमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेस प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउनमा उक्त क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत थियो ।
२०८१ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने ३.६६ प्रतिशत छ । गत वर्षको सोही महिनामा मुद्रास्फीति ४.३४ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.५१ प्रतिशत, ५.१८ प्रतिशत र २.०८ प्रतिशत छ । साउनमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२१ प्रतिशतले घटेको छ ।
२०८१ साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत छ । सन् २०२४ अगस्टमा भारतमा मुद्रास्फीति ३.६५ प्रतिशत छ ।