• Menu

खोटाङको खानीडाँडा-पञ्चमीबजार सडक कालोपत्र सुरु, १७ करोड ३० लाखमा ठेक्का

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १५:२९

खोटाङको खानीडाँडा-पञ्चमीबजार सडक कालोपत्र सुरु, १७ करोड ३० लाखमा ठेक्का

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो ।

भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी-रक्तकन्या-हिमशृङ्खला जेभी काठमाडौंले १७ करोड ३० लाख ८२ हजार बजेटमा सम्झौता गरेर कालोपत्रको काम सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार बिहीबारदेखि ठिक दुई वर्षभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।

ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक कालोपत्र गरिने जनाइएको छ । उक्त सडकले खानीडाँडा हुँदै खोटाङ जिल्लाको दक्षिणी भेगसँग सिधा सम्पर्क स्थापित गर्नेछ भने स्थानीय बासिन्दालाई आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बिहीबार उक्त सडकको शिलान्यास गरे । उनले खोटाङमा विकास निर्माणका काममा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।

पूर्वाधार विकास कार्यालय तथा निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री राईले नागरिकलाई समेत योजना कार्यान्वयनमा निगरानी गर्न आग्रह गरे । मन्त्री राईका अनुसार उक्त सडक खोटाङ जिल्लाको भित्री भूभागमा प्रवेश गर्ने दोस्रो कालोपत्र कार्य सुरु भएको सडक हो ।

यसअघि रसुवा-पाँचधारे सडकमा कालोपत्र कार्य सुरु भइसकेको छ भने, खानीडाँडादेखि थामखर्क विमानस्थल जोड्ने अर्को सडकको बोलपत्र प्रक्रियासमेत अघि बढिरहेको छ ।

ठेकेदार कम्पनीका साइड इन्चार्ज गोविन्द लामिछानेका अनुसार सडक कटिङ, नाली निर्माण, रिटेनिङ पर्खाल, जाली, पाइप तथा कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र यस योजनाका मुख्य काम हो ।

कृतिक प्रकोप नआएमा आगामी असारअघि नै कालोपत्र सुरु गर्ने योजना रहेको लामिछानेले बताए । खोटाङमा पूर्वाधार विकासमा ढिलाइ हुँदै आएको भन्दै यसपटक योजना समयमै सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।

सडक कालोपत्र सम्पन्न भएपछि यातायात सहज हुनुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । दिक्तेल-खानीडाँडा-याम्खा-पञ्चमी सडक कालोपत्र सम्पन्न भएपछि जिल्लाको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्