
चितवन । गत वर्षको तुलनामा यो वर्ष राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए । यो संख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।
निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको छ ।
काठ दाउरा बिक्रीबापत ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रकम राजस्व संकलन भएको उनले जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal