• Menu

नेपालमै पहिलो पटक ‘ड्रोन एभिएसन’मा स्नातकोत्तर तहको पढाइ हुने, ‘मास्टर्स इन ड्रोन एभिएसन’को भर्ना सुरु

नेपाल प्रफिट

२०८२ चैत ६, शुक्रबार १३:२९

नेपालमै पहिलो पटक ‘ड्रोन एभिएसन’मा स्नातकोत्तर तहको पढाइ हुने, ‘मास्टर्स इन ड्रोन एभिएसन’को भर्ना सुरु

काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने तयारीस्वरूप लुम्बिनी बौद्ध विश्वविद्यालय ले ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ । व्यवहारिक विज्ञान संकाय अन्तर्गत ल्याइएको ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम नेपालमै पहिलोपटक सुरु हुन लागेको हो ।

हालसम्म नेपालमा ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित उच्चस्तरीय अध्ययन कार्यक्रम उपलब्ध नभएको अवस्थामा यो पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसँगै चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरूको समेत सहभागिता रहेको छ ।

पाठ्यक्रम विकासमा संलग्न प्राध्यापक प्रविण भट्टराईका अनुसार, कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अबुधाबीका एरोनटिकल इन्जिनियर तथा भारतस्थित मद्रास इन्स्टिच्युट अफ टेक्नोलोजीका विशेषज्ञहरूको योगदान समेत समेटिएको छ ।

नेपालको भौगोलिक बनावट र पहुँचका चुनौतीलाई दृष्टिगत गर्दै ड्रोन प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुने बताइएको छ । यो अध्ययनले विशेषगरी ढुवानी तथा लजिस्टिक्स, डाटा सुरक्षा, पर्यटन प्रवर्धन, म्यापिङ, रोजगारी सिर्जना र स्टार्टअप विकासमा अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

विशेषगरी दुर्गम क्षेत्रमा औषधि, खाद्यान्न तथा आवश्यक सामग्रीको ढुवानी, जिआईएस म्यापिङ, सर्भेक्षण तथा पर्यटन प्रवर्धनमा ड्रोन प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास गरिएको छ । साथै, हाल प्रयोगमा रहेका विदेशी ड्रोनहरूको ‘फ्लाइट कन्ट्रोल सिस्टम’ विदेशी कम्पनीकै नियन्त्रणमा हुने भएकाले संवेदनशील डाटा सुरक्षामा चुनौती रहेको विज्ञहरूको भनाइ छ।

स्वदेशमै ड्रोन निर्माण तथा सफ्टवेयर विकास गर्न सक्ने दक्ष जनशक्ति उत्पादन भएमा राष्ट्रिय सुरक्षा र प्रविधिगत आत्मनिर्भरता सुदृढ हुने अपेक्षा गरिएको छ । ‘मेक इन नेपाल’ अवधारणालाई अघि बढाउँदै स्वदेशी ड्रोन उत्पादन र व्यावसायिक सञ्चालनका लागि यो कार्यक्रम महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

विश्वविद्यालयले उक्त कार्यक्रमका लागि आवेदन खुला गरिसकेको छ । प्रारम्भिक चरणमा २० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । इन्जिनियरिङ, एभिएसन, व्यवस्थापन वा अन्य विषयमा स्नातक गरेका तथा ड्रोन प्रविधिमा रुचि भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्