बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना-ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका छन् ।
सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोडसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
२०७९ सालमा ठेक्का सम्झौता भएको गलकोट नगरपालिकाको हरिचौर-मल्म-पाण्डवखानी-रमुवा-भिमगिठे-निसीखोला सडक २५ करोड लागतमा कालोपत्रका लागि स्तरोन्नति अन्तिम चरणमा पुगेको हो । कार्यालयबाट सञ्चालित सबैभन्दा ठूलो योजनाको रुपमा रहेको उक्त सडकको भौतिक प्रगति ७० प्रतिशत रहेको छ । अन्य १० सडक भने २०८१ यता मात्रै सम्झौता गरेका सडक हुन् ।
जिल्लाभर सडक डिभिजन कार्यालयमार्फत ४९ करोड ५४ लाखका ११ सडकको स्तरोन्नति भइरहेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख हरी सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार अन्य योजना २०८१ पछिको सम्झौता भए पनि हरिचौर-मल्म-पाण्डवखानी सडक कालोपत्रमा ढिलाइ भइरहेको छ ।
पाखुते-बायोखोला-झिम्पा-निसी सडकखण्डमा पहिरो पन्छाउने, सडक खन्ने तथा सडक स्तरोन्नतिको काम भइरहेको छ । एक करोड ५८ लाखको लागतमा एमएस इन्द्रेणी जावला जेभीसँग सम्झौता भएर काम भइरहेको छ । उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ ।
गलकोट नगरपालिका-१० स्थित रणसिंहकिटेनी दोभानदेखि रामुवा सडकखण्डमा रु एक करोड ३२ लाखमा एमएसकोण्डा सर्वसिद्धी जेभीसँग २०८२ मंसिरमा ठेक्का सम्झौता गरी धमाधम स्तरोन्नतिको काम सुरु गरिएको छ ।
अछेते-मुल्ठाना-सिम सडक स्तरोन्नतिका लागि दुई करोड ११ लाखमा ठेक्का सम्झौता गरी काम अघिबढेको छ । हालै सुरु गरिएको उक्त सडकको भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । फलेवास नगरपालिकाको दुल्लेबेँसी-अमरपुरी-दरौदी-सुन्तलाचौर सडक सुधारका लागि करिब दुई करोड ४३ लाखमा धमाधम सडक स्तरोन्नति भइरहेको छ । उक्त सडकको प्रगति ६० प्रतिशत पुगेको छ । उक्त सडक २०८३ असारमा हस्तान्तरण भइसक्नुपर्ने हुन्छ ।
आदर्श प्रावि डाँडाथरदेखि स्यालपाखा हुँदै भैरवस्थान जोड्ने सडकमा समेत स्तरोन्नतिको काम भइरहेको छ । दुई करोड १७ लाख लागतमा उक्त सडकको काम ५४ प्रतिशत सम्पन्न भइसकेको हो । मङ्गलीखोला-धाम्जा-बेलढुंगा-म्याग्दी सडक दुई करोड २९ लाखमा ठेक्का २०८२ पुसमा सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
बाङ्गेचौर-उपल्लाचौर सडक सुधारका लागि ६ करोड ७२ लाखमा २०८१ माघमा सम्झौता गरी स्तरोन्नति भएर कालोपत्रको चरणमा पुगेको छ । उक्त सडक कालोपत्र गर्न ग्राभेल गर्ने तयारी भइरहेको छ ।
बागलुङ नगरपालिका-३ रात्माटा-कोलको-घुम्ती-रिठाबोट-पाखाथर हुँदै कुँडुले जोड्ने सडकमा दुई करोड २५ लाखको लागतमा ५५ प्रतिशत सडक स्तरोन्नति, बागलुङको डोठेतालदेखि राम्तोला सम्मको सडक दुई चरणमा ५ करोड ५० लाखमा स्तरोन्नति भइरहेको छ ।