• Menu

सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, ८ महिनामै थपियो २ खर्ब ४ अर्ब ऋण

नेपाल प्रफिट

२०८२ चैत ३, १६:४०

सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, ८ महिनामै थपियो २ खर्ब ४ अर्ब ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्त सम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो ८ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ ।

सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ५९ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ९५ अर्ब १९ करोड ऋण उठाइसकेको छ । जुन वार्षिक लक्ष्यको ५०.४४ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म ६७.३१ प्रतिशत अर्थात् दुई खर्ब ४३ अर्ब ६६ करोड बराबर उठिसकेको छ ।

त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख ऋण उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा २४.३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड मात्रै उठेको छ ।

त्यस्तै, सरकारी ऋणको साँवा-ब्याज तिर्नका लागि यस वर्ष सरकारले चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा फागुन मसान्तसम्ममा दुई खर्ब ४२ अर्ब २६ करोड भुक्तानी भइसकेको छ ।

यो वार्षिक विनियोजनका आधारमा ५८.९४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.९७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्