
काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड घोटाला भएको पाइएको छ । विराटनगर ३, राजवंशी चोकमा रहेको बैंकको कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको हो ।
बैंकले नै आन्तरिक छानबिनपछि कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएपछि घोटाला बाहिरिएको छ । बैंकबाट जाहेरी पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार बैंकले केही कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएको छ ।
सरप्राइज अडिट गर्दा ऋण लगानी शंकास्पद देखिएपछि आन्तरिक छानबिन गरिएको थियो । छानबिनका क्रममा अधिकारको दुरुपयोग गरेको देखिएको अधिकारीले बताए । ‘सरप्राइज अडिट गर्दा फेक लोन सिर्जना गरेको देखियो, त्यो किस्ता रेगुलर हुन छाडेपछि के रहेछ भन्ने हिसाबले हेर्दा घोटाला थाहा भयो,’ उनले भने,‘चाडपर्वको समयमा लोनको प्रक्रिया तयार गरेको देखिन्छ, आन्तरिक छानबिनको रिपोर्टसहित प्रहरीमा निवेदन दिएका छौं ।’
शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाइमा नक्कली ऋणी खडा गरेको देखिएको छ । बैंकले नक्कली ऋणी देखाएर लगिएको रकमबराबरको धितो रोजीको परिवारबाट संकलन गरिसकेको दाबी गरेको छ । आन्तरिक रूपमा विषय मिलाउने भन्दै बैंकले कँडेलको परिवारबाट ७ करोड रुपैयाँबराबरको जग्गा धितो राखेरमात्रै बैंक प्रशासन प्रहरी कार्यालय पुगेको हो ।
कँडेलले पनि बैंकले आफूलाई मात्रै फसाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । बैंक र कर्मचारी दुवैबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।सिटिजन्स बैंकको कञ्चनबारी शाखाबाट पाँच वर्षअघि पनि ऋण अपचलन भएको थियो । त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal