काठमाडौं । माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया प्रशान्त क्षेत्रको प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ मा चार अवार्ड जितेको छ । अभियानले एउटा ग्रान्ड प्रिक्स, एउटा सिल्भर र दुई वटा ब्रोन्ज गरी चारवटा अवार्ड जित्दै नेपाली विज्ञापन तथा रचनात्मक क्षेत्रका लागि ऐतिहासिक सफलता हासिल गरेको हो ।
अभियानले विशेषगरी सगरमाथाबाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्य राखेको थियो । कम चर्चामा रहेका हिमालहरू र तीसँग जोडिएका साहसिक तथा प्रेरणादायी कथाहरूलाई कथावाचन, डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्सको संयोजनमार्फत प्रस्तुत गरिएको थियो ।
अभियानले एक्टिभेसन विधामा सबैभन्दा ठूलो सम्मान मानिने ग्रान्ड प्रिक्स जितेको छ । यो विधामा ब्रान्डले दर्शक वा उपभोक्तालाई प्रत्यक्ष रूपमा संलग्न गराउने र प्रभाव पार्ने रचनात्मक अभियानलाई उच्च मूल्यांकन गरिन्छ । त्यस्तै इनोभेसन विधामा अभियानले सिल्भर अवार्ड प्राप्त गरेको छ । यो विधाले नयाँ सोच, प्रविधि र सिर्जनात्मक प्रयोगमार्फत ब्रान्डलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयासलाई सम्मान गर्छ ।
अभियानले क्रिएटिभ डेटा र ब्रान्ड एक्सपिरियन्स विधामा दुई ब्रोन्ज अवार्ड पनि प्राप्त गरेको छ । क्रिएटिभ डेटा विधाले डाटाको सिर्जनात्मक प्रयोगमार्फत प्रभावकारी सन्देश प्रवाह गर्ने अभियानलाई सम्मान गर्छ भने ब्रान्ड एक्सपिरियन्स विधाले उपभोक्तालाई प्रत्यक्ष अनुभवमार्फत ब्रान्डसँग जोड्ने अभियानलाई मूल्यांकन गर्छ ।
अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’का रूपमा सहभागी भएको ‘डिजिटालिन’ले नेपालमा यसको प्रभावकारी कार्यान्वयन तथा दर्शकसँगको व्यापक संलग्नता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ । अभियानलाई थप प्रामाणिक र भावनात्मक बनाउन कम्पनीले शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग समन्वय गर्दै कार्य गरेको थियो ।
डिजिटल इनका संस्थापक तथा कार्यकारी निर्देशक उमंग शाक्यले यो सफलता केवल एउटा अभियानको मात्र नभई समग्र नेपाली रचनात्मक उद्योगका लागि पनि गौरवको क्षण भएको बताए । उनले स्पाइक्स एसियाजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अभियानले यस्तो मान्यता प्राप्त गर्नु नेपाली विज्ञापन जगतका लागि महत्वपूर्ण कोसेढुंगा सावित भएको पनि बताए ।