काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ सालका लागि तयार गरिएको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले विशेष समारोह आयोजना गरी क्यालेन्डर सार्वजनिक गरेको हो ।
कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु लोपोन्मुख वन्यजन्तु, दिगोपन, संरक्षण र सम्वद्र्धनमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको क्यालेन्डरमा नेपालमा पाइने विभिन्न लोपोन्मुख वन्यजन्तुका तस्बिर समावेश गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण तथा भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने सन्देशलाई जीवन बिमाको मूल अवधारणासँग जोडेर क्यालेन्डर तयार गरिएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो क्यालेन्डरले प्रकृति संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जीवन बिमाले प्रदान गर्ने सुरक्षा, संरक्षण र भविष्यप्रतिको तयारीबारे सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारी तथा विभिन्न विभागीय प्रमुखहरूको उपस्थिति थियो । यो इन्स्योरेन्स कम्पनीका हाल देशभरमा १४८ शाखा तथा उपशाखा सञ्चालनमा छन् ।