हुम्ला । सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका स्थानीय बताउँछन् ।
सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुंगाको केउकेउ मूलबाट ल्याइएको पानी भण्डारण गर्ने ट्यांकीमा नभरिएपछि पानीको अभाव भएको स्थानीय नैनसिंह रावतले बताए । नाम्खा गाउँपालिका-१ मा पर्ने ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइए पनि उक्त ठाउँको बीचबीचमा बरफ जमेपछि पानीको संकट देखा पर्न थालेको उनको भनाइ छ ।
पहिलेपहिले करिब १० फिटसम्म हिमपात भए पनि खानेपानीको अभाव नहुने बताउँदै रावतले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको उल्लेख गरे ।
किसानलाई ओखर र स्याउका बिरुवा वितरण
कृषि विकास कार्यालय हुम्लाले जुम्लाको फार्मबाट तीन हजार ८७६ वटा ओखर तथा स्याउका बिरुवा खरिद गरी ५५० जना किसानलाई अनुदानमा बिरुवा वितरण गरेको छ । प्रतिबिरुवा २७५ का दरले किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिए ।