• Menu

जुम्लामा हेलिकोप्टरबाट उद्धार गरिएकी १८ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार १२:५४

जुम्लामा हेलिकोप्टरबाट उद्धार गरिएकी १८ वर्षीया सुत्केरीको उपचारका क्रममा मृत्यु

जुम्ला । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

जुम्ला जिल्लाको तिला गाउँपालिका-३ की १८ वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा ज्यान गएको हो । घरमै सुत्केरी गराउने प्रयासका क्रममा लामो समयसम्म व्यथा लागेपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो। त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानमा शल्यक्रिया गरी सुत्केरी गराए पनि स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइएको थियो ।

तर अस्पतालमा उपचार भइरहेकै अवस्थामा शुक्रबार राति करिब १ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइएको थियो । ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरी सेवा नपाउँदा यस्ता घटना दोहोरिने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्