• Menu

मुस्ताङको कोवाङ-जोमसोम सडक फेरि अलपत्र, ८ वर्षमा पनि सकिएन १७ किमी कालोपत्र

नेपाल प्रफिट

२०८२ फागुन २९, शुक्रबार ११:५६

मुस्ताङको कोवाङ-जोमसोम सडक फेरि अलपत्र, ८ वर्षमा पनि सकिएन १७ किमी कालोपत्र

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ ।

कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी-जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र पर्दै आइरहेको हो ।

बेनी-जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर यहाँको कोरलानाका जोड्ने कोवाङ-जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसक्दा निर्माण कम्पनीले सडक स्तरोन्नति काम अलपत्र पारेको आयोजनाले जनाएको छ ।

त्रिदेशीय व्यापारिक मार्गका रूपमा विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले नेपाल-चीन कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक आव २०७३/७४ देखि सुरु गरेको थियो । सोहीअनुसार कोवाङ-जोमसोम १७ किमी चौथो खण्ड ७० करोड लागतमा आयोजनासँग ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो ।

निर्माणाधीन कोवाङ-जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिका लागि पप्पु गौरी पार्वती, कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने भनिए पनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले स्तरोन्नति काम सम्पन्न गर्न सकेको छैन ।

ठेक्का सम्झौता हुँदाको सुरुआती अवस्थामा जोइन पार्टनर कोशी एन्ड न्यौपानेले कोवाङ-जोमसोम सडक निर्माणको जिम्मा लिएको भए पनि उसले कामलाई गति दिन नसकेपछि जेभीको जोइन मुख्य पार्टनर पप्पु गौरी पार्वती सडक निर्माण सम्पन्न गर्न काममा फर्किएको थियो ।

कोवाङ-जोमसोम सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएदेखि हालसम्म खन्ती-टुकुचेस्थित थापाखोलासम्म, टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्र कार्य सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी, मुस्ताङको स्याङगाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको काम सकिएको छ ।

जोमसोम प्रादेशिक अस्पतालदेखि जोमसोम पक्की पुलसम्मको करिब १५ किलोमिटर सडक कालोपत्र विस्तारकार्य सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार थासाङको टुकुचे गाउँभित्रको सडक, मार्फा पुलदेखि स्याङ पुछारसम्म र जोमसोम बजारको नेपाली सेनाको ब्यारेक अगाडिको सडक गरी करिब दुई किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको भए पनि काम अघि बढ्न सकेको छैन ।

निर्माणाधीन सडकअन्तर्गत जोमसोमस्थित नेपाली सेनाको ब्यारेक अगाडि कालोपत्रका लागि फिलिङ गर्न माटो थुपारिएकाले सवारी आवागमनमा समस्या परेको छ । त्यसैगरी कालोपत्र ढिलाइ हुँदा सेनालाई धुवाँधुलोले पनि असर पुर्‍याएको देखिन्छ ।

यसअघि कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक निर्माण वैशाखभित्र सम्पन्न गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । तर, प्रशासनको उक्त निर्देशनलाई बेवास्ता गर्दै निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र पारेको हो ।

कोवाङ-जोमसोम सडकको निर्माण कम्पनीले गत कात्तिकदेखि कुल ठेक्का सम्झौताको (०.०५) प्रतिशत हुनेगरी दैनिक हर्जाना लाग्नेगरी जरिवाना रकम तोकिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । यहाँको (कोवाङ-जोमसोम) खण्डको सातौँपटक म्याद थप भइसकेको र जरिवाना रकमको अवधि २०० दिने रहने उनले बताए । ‘चैत महिनासम्म अन्तिम ‘डेटलाइन’ छ, त्यो अवधिसम्म जरिवाना रकम बुझाएर सडकको अधुरो काम सुरु गर्नुपर्ने हुन्छ,’ आयोजना प्रमुख शर्माले भने, ‘यदि त्यसो हुन नसकेमा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भङ्ग हुन्छ र नयाँ ठेक्का प्रक्रियामा जानेछ ।’

निर्माण कम्पनीको चरम ढिलासुस्तीले अलपत्र परेको (कोवाङ-जोमसोम) सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आयोजनाले ठेक्का सहमति तोडेर नयाँ ठेक्का खुलाउन विभागसँग सहमति माग भए पनि सहमति प्राप्त नभएको आयोजना प्रमुख शर्माको भनाइ छ ।

दैनिक हर्जाना तोकिएको कोवाङ-जोमसोम अलपत्र सडकको सरकारले सार्वजनिक खरिद ऐन संशोधन नल्याएमा निर्माण कम्पनीले ठेक्का सम्झौता लागत १० प्रतिशत जरिवाना आयोजनालाई बुझाउनुपर्ने आयोजना प्रमुख शर्माले बताए । निर्माणाधीन अलपत्र कोवाङ-जोमसोम सडक निर्माणमा प्रयोग भएका उपकरण थन्क्याएको अवस्थामा छ । सडक निर्माणकार्यका लागि खटिएका जनशक्ति काममा फर्किएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्