• Menu

सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो, १२ खर्ब ६१ अर्ब भित्रियो

नेपाल प्रफिट

२०८२ फागुन २८, १४:३०

सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले बढ्यो, १२ खर्ब ६१ अर्ब भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा आउने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ सम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रेमिट्यान्स वृद्धिदर ७.५ प्रतिशत मात्रै रहेको थियो ।

प्रतिवेदनका अनुसार माघ महिनामा मात्रै करिब १ खर्ब ९८ अर्बभन्दा बढी रकम रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको माघमा भने १ खर्ब ३७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ५.५ प्रतिशत मात्रै थियो ।

यता, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखिएको छ । चालू आर्थिक वर्षको सात महिनामा २ लाख ४५ हजार १५३ जनाले नयाँ अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष सोही अवधिमा भने २ लाख ७४ हजार ६२२ जनाले यस्तो स्वीकृति लिएका थिए ।

तर पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या भने बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षमा यो संख्या बढेर २ लाख २७ हजार ४२४ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्