
एजेन्सी । मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट ठूलो मात्रामा तेल बजारमा ल्याउने योजना अघि सारेको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार करिब १७ करोड २० लाख ब्यारेल तेल रणनीतिक भण्डारबाट निकालेर विश्व बजारमा आपूर्ति गरिनेछ । आगामी सातादेखि तेल बजारमा पठाउन सुरु गरिने र वितरण प्रक्रिया करिब १२० दिनसम्म जारी रहने जनाइएको छ ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण थालेपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । यसले विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले पनि आपूर्ति संकट कम गर्न आफ्ना ३२ सदस्य राष्ट्रका आपतकालीन भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ ।
तर यस्ता प्रयासका बाबजुद पनि तेलको मूल्यमा खासै गिरावट आएको छैन । अन्तर्राष्ट्रिय बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशतले बढेर प्रतिव्यारेल ९१.९८ अमेरिकी डलर पुगेको छ ।
उता, होर्मुज जलडमरू मार्ग वरिपरि बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले त्यहाँ अवरोध आएमा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्लेषकहरूले बताएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal