• Menu

मर्चवारवासीको जोखिमपूर्ण यात्रा : दानव नदीमा पक्की पुल नहुँदा बाँसको पुल र ‘जिउका’कै भर

नेपाल प्रफिट

२०८२ फागुन २८, १४:०८

मर्चवारवासीको जोखिमपूर्ण यात्रा : दानव नदीमा पक्की पुल नहुँदा बाँसको पुल र ‘जिउका’कै भर

रुपन्देही । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका-३ मा पर्ने भभइ-भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुंगा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।

‘उहाँले धेरै दुखजिलो गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,’ उनले भने, ‘तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ । पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ ।’

उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो । मर्चवारबाट सिधैँ कक्रहवा, लुम्बिनीहुँदै नेपाल-भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ ।

भभइकै अर्का स्थानीय धर्मेन्द्र लोधले पुल नहुँदा वर्षायाममा समस्या झन् बढ्ने बताउँछन् । अहिले नदीमाथि बाँसको अस्थायी पुल बनाइए पनि वर्षा सुरु भएपछि त्यो पनि प्रयोग गर्न नसकिने अवस्था हुने गरेको उनको भनाइ छ ।

‘अहिले त अलिअलि सुविधा छ, तर वर्षा लागेपछि हामी पानीमा हेलिएर हिँड्नुपर्छ,’ उनले भने, ‘यदि यहाँ पक्की पुल भइदिएको भए वर्षातमा पनि सहज रुपमा आवतजावत गर्न सकिन्थ्यो । पुल नहुँदा कहिले अजमा, दुईमुहान त कहिले बर्डर हुँदै घुमेर जानुपर्छ ।’

स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ ।

‘यस पारिका मानिसहरुको खेत उता छ भने उता बस्नेको खेतयता छ,’ उनले भने, ‘बाढी आउँदा त कोही पनि आउनजान सक्दैनन् । त्यसैले यहाँ पक्की पुल अत्यन्त आवश्यक छ ।’

स्थानीयको सहयोगमा नदीमाथि बाँसको अस्थायी पुल बनाउने काम एक मल्लाह परिवारले गर्दै आएको छ । पुल निर्माणका लागि उनीहरूले झण्डै एक महिना अघि नै बाँस काटेर जम्मा गर्ने र करिब १५ दिन लगाएर पुल तयार गर्ने गर्छन् ।तयार भएको पुल कुर्न बासमति मल्लाह दिनभरि घाटमै बस्छन् । परिवारका तीन जनाले मिलेर पुल बनाएका बासमतीले दिनको कहिले १००, कहिले १५० त कहिले २०० रुपैयाँसम्म आम्दानी हुने गरेको बताउँछन् । बाटो हिँड्नेले गच्छे अनुसार ५, १० वा २० रुपैयाँसम्म ‘मल्लाही’ तिर्छन । ‘यही घाटको आम्दानीबाट नून-तेल र घरखर्च चल्छ,’ बासमतीले भनिन्, ‘हामीसँग आफ्नै खेतीपाती छैन ।

यही घाट हाम्रो मुख्य आम्दानीको स्रोत हो ।’ उनले स्थानीयहरुले नगदमै केही रकम दिए पनि स्थानीयको हकमा भने धान, चामल, गहुँ लगायतको जिन्सी (जिउका) लिने गरेको बताइन् । जिउका बापत चार देखि १० पाथीसम्म प्रति घर अन्न पाउने गरेको उनको भनाइ छ ।

वरपरका १०-१२ गाउँका करिब एक हजार घरधुरीका मानिस यही बाटो प्रयोग गर्ने भएकाले यहाँ पक्की पुल निर्माण गर्न स्थानीयले वर्षौँदेखि सरकारसँग माग गर्दै आएका छन् । स्थानीयवासीका अनुसार बाँसको पुलले अहिलेसम्म यात्रालाई सम्भव बनाएको भए पनि स्थायी समाधानका लागि अब पक्की पुल निर्माण अपरिहार्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्